काठमाडाैं । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक ३ बजे बस्ने गरी स्थगित गरेर वार्तामा बसेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच शनिबार सचिवालय बैठक बस्ने सहमति भएको छ । साथै अध्यक्षद्वयबीच आज बस्ने भनिएको स्थायी कमिटी बैठक पजि आइतबारसममको लागि स्थगित गर्ने सहमति भएको छ ।
शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको उनको भनाइ थियो ।
गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन । विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक-पटक बैठक स्थगित हुँदै आएको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिइपछि नेकपाभित्र विवाद चर्किदै आएको छ । यता प्रधानमन्त्री राजीनामा दिन तयार नभएपछि ओली र प्रचण्ड आ आफ्नै रणनीति तयार गरेर आजको स्थायी कमिटी बैठकमा प्रस्तुत हुने तयारीमा थिए । अब भने सतिवालयमार्फत नेकपा विवाद समाधानको प्रयास गर्ने अध्यक्षद्वयबीच सहमति भएको स्रोतको दाबी छ ।