ओली-प्रचण्डबीच आज पनि छलफल हुँदै

ओली-प्रचण्डबीच आज पनि छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ । दुबै अध्यक्ष सत्तारुढ नेकपाभित्रको बढ्दो अन्तरविरोधलाई मत्थर पार्ने उपायको खोजीमा केही समयदेखि निरन्तर छलफलमा छन् ।

निकासका लागि दुई अध्यक्षबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा वान टु वान’ छलफल हुने बताइएको छ । पार्टीमा विवाद बढ्दै गएपछि साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित भएको थियो । त्यसपछि आन्तरिक किचलो मिलाउन दुई अध्यक्षबीच कहिले ‘वान टु वान’ त कहिले सहयोगीका साथ संवाद चलिरहेको छ ।

यसअघि दुवै अध्यक्षले तीन दिन एक्लाएक्लै वार्ता गरिसकेका छन् । नेताहरुले पछिल्लो समय पार्टी विवाद मिलिसकेको बताउने गरे पनि कुन–कुन विषयमा सहमति भयो भन्ने विषय बाहिर आएको छैन । स्थायी समिति बैठकमा सदस्यहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । सहमतिका लागि भन्दै स्थायी समिति बैठक साउन २ गते सम्मका लागि स्थगित गरिएको छ ।