काठमाडौं । नेपालमा पहिलोपटक सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ । ‘एक जना सांसदको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, ती मन्त्रीले भने । यस अघि स्थानीय जनप्रतिनिधिमा भने कोरोना संक्रमण पुष्टी भएको थियो।
पछिल्लो २४ घण्टायता ११६ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टायता ४ हजार ३ सय ६८ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।