कोरोना भाइरसलाई लिएर डब्ल्युएचओले दियो यस्तो चेतावनी

कोरोना भाइरसलाई लिएर डब्ल्युएचओले दियो यस्तो चेतावनी

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको डब्ल्युएचओले चेतावनी दिएको छ । स्वीट्जरल्याण्डको जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्ल्युएओका महानिर्देशक डा टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए ।

नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले भनाइ छ ।‘कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन्,’ उनले भने ।

भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए । ‘अझै पनि विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिदैन,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘यदी आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ ।’

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनको भनाइ छ ।