अपाङ्ता भएका सिजन राईको खुला चुनौती- 'म पूर्वजन्मको पापी होइन, अवसर मात्र नपाएको हुँ'

अपाङ्ता भएका सिजन राईको खुला चुनौती- 'म पूर्वजन्मको पापी होइन, अवसर मात्र नपाएको हुँ'

लक्ष्य, परिवार, घृणा अनि जिम्मेवारी। यही कुराले निकै वर्षदेखि पिरोलिरहेको छ उनलाई। आँखा चिम्म गर्दा देखेका सपना पूरा गर्न अनेकौं प्रयास गरे तर शारीरिक रुपले अशक्त भएकै कारण उनका सबै प्रयास विफल भैरहेका छन् तर पनि कसैसँग कुनै गुनासो छैन। 

खोटाङबाट ०५५ सालतिर काठमाडौं झरेका सिजन राईको सपना थियो, नाम चलेको टेलिभिजन प्रस्तोता र समाजसेवी बन्ने। एसएलसी सकिएलगत्तै परिवारले उनको यही सपनालाई साकार बनाउनका लागि घर नजिकको कलेजमा, आमसञ्चार र पत्रकारिता विषयमा भर्ना गराइदिए। उनको र मेरो भेट पनि यही विषयले जुराइदिएको थियो। 

सिजन, म र अरु दुई जना कक्षाको सबैभन्दा अगाडिको बेन्चमा बस्थ्यौं। शारीरिक रुपले कमजोर भए पनि मानसिक रुपले भने निकै टाठा थिए उनी। प्रश्न गर्न माहिर सिजन धेरै पटक प्रश्न गरेकै कारण शिक्षकको गालीको पात्र पनि बन्थे। 

सानैमा खुट्टाको छेउमा आएको पिलो बिग्रिँदा, त्यसले नसामा पारेको असरले उनका दुवै खुट्टामा समस्या उत्पन्न भएको थियो। उनी सामान्य मानिसजस्तो हिँड्न सक्दैनथे। उनलाई हिँड्न निकै गाह्रो हुन्थ्यो तर पनि उनले व्हिलचियर कहिल्यै प्रयोग गरेनन्। उनलाई अरुले अपाङ्ग भनेको फ़िटिक्कै मन पर्दैनथ्यो। कलेज छुट्टी भैसकेपछि उनी र म कहिलेकाहीँ घर फर्किने बेला सँगै हुन्थ्यौं। उनी सकीनसकी हिँड्थे अनि भिड भएको सार्वजनिक गाडीमा झुण्डिएर घर जान्थे। 

प्लस टुपछि सिजन र मेरो खासै भेट भएन। हामी सामाजिक सञ्जाल फेसबुकमा भने निकै सक्रिय थियौं। उनको जीवनमा आइपरेका धेरैजसो घटना उनले आफ्नो मन हल्का पार्न मलाई सुनाउने गरेका छन्। म पनि आफूले सक्नेसम्मको सहयोग उनलाई गर्न खोज्छु। तर बाध्यताबस मेरा मौखिक सहयोगले उनको जीवनमा कति प्रभाव पार्यो कि पारेन, त्यो चाहिँ मलाई थाहा छैन। 

तीन वर्ष पुरा भयो उनी विवाह बन्धनमा बाधिएको पनि। शारीरिक रुपले अक्षम भए पनि उनलाई साथ दिने ठूलो मन भएकी घरकी लक्ष्मी चाहिँ सक्षम नै आइपुगिन्। उनलाई डर थियो, कतै मेरो बच्चा मजस्तो त जन्मँदैन नि । तर भगवानको आशीर्वादले राम्रो भन्दा पनि सक्षम छोरा जन्मिएकोमा उनी धेरै खुशी छन्।

छोरा त जन्मियो। अहिलेसम्म त उनका परिवार र श्रीमतीले उनको पालनपोषण गरिरहेका छन् तर छोरालाई केही गर्न नसक्नुको पीडाले उनको छाती दिनरात पोल्छ। स्नातकसम्मको अध्ययन गरेका सिजनले काम खोज्न धेरै ठाउँ भौतारिए। धेरै मान्छेको अगाडि बिन्ती टक्राए तर कहीँ कतैबाट उनलाई सहयोग मिलेन। 

उनीसँग समाजलाई देखाउन बाँकी थुप्रै कला छन् तर अवसर नै पाइरहेका छैनन्। उनीसँग भएको सीप भन्या मात्र कलम चलाउने थियो तर यो सीप अहिले उनलाई टोक्नु न बोक्नु भएको छ। उनले धेरै पटक आत्महत्या गर्छु भन्ने सम्मको साहस बटुलिसकेका थिए  तर समाजले दिने कायर उपनामको कारणले उनी रोकिए। 

उनले जिन्दगीबाट भन्दा पनि आफ्नो परिवार र समाजले उनीप्रति प्रति देखाउने व्यवहारबाट हरेस खाइसकेका छन्। उनी मलाई भन्ने गर्छन्, 'परिवार पनि जसले राम्रो गर्न सक्छ, जो सक्षम छ उसैलाई सपोर्ट गर्दा रहेछन्। लगानी गर्दिनु न त म केही गर्छु भन्दा तँ सक्दैनस् भनेर टार्छन् ।'

सक्षम र अक्षमको भेदभाव आफ्नै घरमा देख्दा उनलाई दुःख लाग्छ।  झन् पहिला पहिला सानो छँदा कति आफन्तजनले यो पूर्वजन्मको पापले गर्दा यस्तो भएको भन्थे। यो सुन्दा कति रात उनको आँसुमै बित्थ्यो। उनलाई पनि लाग्थ्यो, 'कहीँ मैले पूर्वजन्ममा केही पाप त गरिनँ ?' पछि यी त सबै मेरो मनोबल घटाउन पो प्रयोग हुने शस्त्र रहेछ भनेर ध्यान दिन छोडे ।
 
बाटोमा हिँड्दा अपरिचित मान्छेहरु उनी हिँडेको टाढा पुगुन्जेल हेरिरहन्छन् मानौं कि अर्कै संसारबाट भर्खर धर्तीमा आएको जस्तो लाग्छ उनीहरुलाई । सिजनलाई आफू जनावरजस्तो लाग्थ्यो रे। खायो, सुत्यो यति मात्र भैरहेको छ मेरो जिन्दगीमा। तर अहिले उनले धेरै साहस जुटाइसकेका छन्, छोरा र श्रीमतीले उनको आँट धेरै नै बढाइसकेका छन्। उनी भन्छन्, 'अब त म हार खादिनँ। यो लकडाउन सक्किएपछि केही न केही त गर्छु गर्छु। अलिअलि पैसा कमाउछु अनि छोराको भविष्यक लागि आफूले पूरा गर्न नसकेको सपना उसको माध्यमबाट पुरा गर्छु । मजस्ता थुप्रै शारीरिक अशक्तहरुको हालत दहनीय छ। यसमा नेपाल सरकार र गैरसरकारी संस्थाले केही पहल गरेर जागिरको व्यवस्था गरिदिए सजिलो हुन्थ्यो।'