को हुन् कोरोनाबाट ज्यान गुमाउने थप ३ जना ?

को हुन् कोरोनाबाट ज्यान गुमाउने थप ३ जना ?

काठमाडौं । नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । 

काठमाडौं-१० नयाँ बानेश्वरका एक ६० वर्षीय पुरुषको उपचारको क्रममा असार २६ गते मृत्यु भएको छ। उनी मिर्गौलाका बिरामी थिए। १६ गते पाटन अस्पतालमा भर्ना भएका उनको १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ। 

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ का ५४ वर्षीय कोरोना संक्रमित व्यक्तिको पनि असार २५ मा नै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। जेठ ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ आएका उनको असार २५ मा नै मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो। 

यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरीका अर्का एक कोरोना संक्रमितको समेत असार २५ गते पाटन अस्पतालमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ।  क्षयरोगका बिरामी उनी असार १७ गते पाटन अस्पतालमा भर्ना भएका थिए। उनको असार २२ मा कोरोना परीक्षण गरिएको थियो। कोरोना पोजेटिभ आएका उनको उपचारका क्रममा नै असार २५ गते मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको छ। नेपालमा हालसम्म १६ हजार ७ सय १९ कोरोना संक्रमित पुष्टि भएका छन् भने ८ हजार ४ सय ८२ जना निको भएका छन् । पछिल्लो २४ घण्टायता केवल ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।