स्वास्थ्य

वरिपरिका औषधि र भोजन

वरिपरिका औषधि र भोजन

प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भनेछन्, “तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ, जसको कुनै औषधीय महत्व छैन ।” सबै विद्यार्थीहरू जंगलमा गएर खोज्न थालेछन् । एक महिनापछि प्रायः विद्यार्थी हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्केछन् र गुरुजीलाई भनेछन्, “यी वनस्पतिको कुनै औषधीय महत्त्व छैन ।” 

एक जना विद्यार्थीचाहिँ झण्डै ५ दिन ढिला फर्केर भनेछन्, “गुरुजी, म त वनस्पति खोज्दा खोज्दा हैरान भएँ, तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।” गुरुजीले प्रसन्न भएर भनेछन्, “तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।” 

यो कथाबाट मैले सिकेको पाठ हो, “संसारमा कुनै न कुनै औषधीय गुण नभएको वनस्पति हुँदैन ।” हामीले हेर्न मात्र जान्नुपर्छ । यो कथा नै भए पनि यसमा धेरै सत्यता छ । 
करी पत्ता (मीठो निम) श्रीलंका र दक्षिण भारतीय भोजनमा अत्यावश्यक वस्तु मानिन्छ । करी पत्ताले खानालाई स्वाद दिने मात्र होइन कि पौष्टिक पनि ।

मेरो दैनिक जीवनको खानपिनमा नछुट्ने एउटा वनस्पति हो, करी पत्ता । यसलाई कति जनाले मीठा निम पनि भन्छन् । शायद निम पत्ताको औषधीजन्य गुण हुने तर तितो नभएकाले यसलाई मीठो निम भनेको हो कि ?

मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको चाहिँ सन् २००६ मा श्रीलंका बसाइमा हो । म त्यहाँ जनस्वास्थ्य विशेषज्ञ भएर एक वर्ष बसेँ । त्यो बेलामा नै मैले करी पत्ताबारे थाहा पाएँ ।

श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गर्दा रहेछन् । पहिले पहिले त मैले तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । एक दिन सँगै खान बसेकी नर्सले मैले करी पत्ता फ्याँलेको देखेर छक्क परिन् र भनिन्, “यो त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्र्ण नै हुँदैन । हामी  यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यसमा रहेका तत्वहरुले रगत बढाउँछ, मधुमेह भएकाहरुलाई पनि उपयोगी हुन्छ । यो त भिटामिन ‘ए’ को भण्डार नै हो, अनि किन तिमीले फ्याँलेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।” 

नर्सको कुरा सुनेर मैले अर्को प्लेटमा राखेको पत्ता चपाएँ । 

११ वर्षअघिको यो संवादपछि मैले करी पत्तालाई दैनिक जीवनको अंग नै बनाएकी छु । घरमा दुइवटा करी पत्ताका बोटबाट टिपेर प्रत्येक दिन २–४ पत्ता चपाउँछु । तरकारी बनाउँदा पत्ता हाल्छु नै । पिसेको अचार बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि पिस्छु । लामो समयका लागि घर बाहिर जाँदा सुकाएको करी पत्ता सँगै लैजान्छु र चपाएर वा धुलो बनाएर तरकारी दालमा हाल्छु ।

करी पत्ताको बोट सजिलै उम्रने हुनाले साथीभाइहरुलाई घरमा उमार्न करी पत्ताको पाकेको दाना वा सानो विरुवा उपहार पनि दिन्छु । मलार्ई श्रीलंकाकी नर्सले सिकाएको कुरा अरुलाई पनि भन्छु । किन करी पत्तालाई मीठा निमसँग तुलना गरिएका होला भनेर यसको बारेमा केही बढी जानकारी लिँदा थाहा भयो कि करी पत्ता त पोषणको भण्डार नै रहेछ । यसमा रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा गर्भवती र सुत्केरीका लागि अति जरुरी हुन्छ । फोलिक एसिडको प्रयोगले भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट  बच्न मदत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशुहरु कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन तर फोलिक एसिडयुक्त भोजन खान गाह्रो हुने गाउँका महिलाबाट जन्मिने शिशुहरुमा यो हुन सक्ने भन्ने कुरा विभिन्न अनुसन्धानले बताएका छन् । 

करी पत्ता तराईमा जताततै पाइन्छ तर कुनै पनि स्वास्थ्यकर्मीले गर्भवती करी पत्ता टिपेर तरकारीमा हालेर खानु भन्दैनन् होला र त्यहाँका स्वास्थ्यकर्मीलाई पनि करी पत्ताको उपयोगिताबारे शायद थाहा छैन । कतिले त शायद गाईवस्तुलाई दिने गरेका होलान्, किनभने करी पत्ता खाएपछि गाई र गोरुको स्वास्थ्य राम्रो हुन्छ भन्ने उनीहरुलाई थाहा छ । करी पत्ताबारे गरिएका विभिन्न अनुसन्धानले करी पत्ताले पाचन प्रणालीमा पनि मदत गर्ने देखाएको छ ।

अर्को अनुसन्धानले शरीरमा रहेको कोलेस्टेरोल नामक बोसोलाई कम गर्न मदत गर्ने कुरा देखाएको छ । त्यसको अर्थ हो, मुटुको रोगबाट बच्न पनि मदत गर्छ । दक्षिण भारतीय र श्रीलंकाको भोजनमा प्रयोग गरिनुको साथै इण्डोनेशियामा पनि  मसलाको रुपमा यसको प्रयोग गरिन्छ । यसको उद्गम भारतको उत्तर प्रदेश हो तर हाल यो एशियाभरिमै फैलिएको छ । करी पत्ता भोजन मीठो बनाउन विभिन्न स्वास्थ्य समस्याको घरेलु समाधान गर्न र सौन्दर्य बढाउनका लागि पनि प्रयोग गरिन्छ । दक्षिण भारतका कतिपय गाउँमा त मेहन्दीसँग करि पत्तालाई पिसेर कपालमा लगाउने चलन रहेको छ । यसले गर्दा कपालमा चायाँ नरहने उनीहरुको विश्वास छ ।

पखाला लागेका बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेशादार पदार्थले कब्जियत कम गराउन पनि मदत गर्छ ।

यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्छ । यसरी पानीमा पकाएर खाँदा अलिकता कागती र वीरेनुन पनि हाल्न सकिन्छ । यसमा रहेको फोलिक एसिड र लौह तत्वलाई शरीरमा रगतको मात्र बढाउन र हड्डी बलियो बनाउन पनि मदत गर्छ । गर्भवती आमाले दिनमा ३–४ पटा हरियो पत्ता चपाए पनि फाइदा पुग्छ । संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न लागि निम प्रयोग गरिएजस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ । गर्भवतीलाई हुने वाकवाकी मेट्न पनि यसले मदत गर्छ । यसको भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्यको पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमै भिटामिन ‘ए’ को कमीले बालबालिका र गर्भवतीमा आँखा समस्या देखा पर्छ । भिटामिन ‘ए’ को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले कहिले पनि करी पत्ताको प्रयोग गर भनेर सिकाउने जमर्को गर्दैन । करी पत्तामा रहेका विभिन्न रसायन र साथै भिटामिन ‘ए’, भिटामिन ‘सी’ कलेजोलाई स्वास्थ्य राख्न पनि मदत गर्छन् भन्ने पनि अनुसन्धानले देखाएको छ । हाम्रा पुर्खाहरुलाई यसले फाइदा गर्छ भने थाहा थियो । तर उनीहरुले वैज्ञानिक अनुसन्धान गरेर पत्ता लगाएको होइन कि अनुभवहरुद्धारा कसरी करी पत्ता र निम स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने थाहा पाएका थिए ।

“चेपाङहरुले केही खान पाएनन्, भोकमरी भयो, त्यसैले उनीहरुले गिठ्ठा भ्याकुर, तरुल, सिस्नु, कालो निगुरो खाएर जीवन बिताउनु परेको छ । पौष्टिक खाना नपाउँदा उनीहरु कुपोषणको शिकार भएका छन् । त्यसैले सरकारले चामल लगेर दिनुपर्छ” भन्ने भाषण जताततै सुनिन्छ । पत्रिकामा पनि छापिन्छ । तर नेपालमा भएको कृषि वैज्ञानिक, कृषि मन्त्रालय र कृषिमा काम गर्ने सरकारी कर्मचारीले शायदै भन्छन् कि चेपाङको खानाले कुपोषण गराउँदैन । चेपाङले खाने खानामा त मानव स्वास्थ्यलाई चाहिने सबै तत्व छन् । बरु हामीले त चेपाङले प्रयोग गर्ने खाना मासिँदै गएकोमा पो त चिन्ता जनाउनु पर्ने हो । 

केही दिन अघि एक जना साथी जर्मन पुगेर आएका थिए र उनले मलाई भने, “जर्मनमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पनि त्यो पाइन्छ कि पत्ता लगाएर हाम्रो बारीतिर पनि रोप्न पाए हुन्थ्यो ।” उनको कुरा सुनेर म हाँसे  । “तिमीलाई अंग्रेजी नाम भएको हुनाले बडो स्वस्थकर लागेछ । यो त हामीकहाँ चेपाङले दैनिक प्रयोग गर्ने गिठ्ठा पो हो ।” उनी एकछिन त अकमक्क परे, “ए त्यस्तो पो रहेछ । किन त चेपाङहरुले खान पाउँदैनन् भनेर भनेको रु” “किनभने हामीकहाँ नेपाल बाहिरका कृषि उपज मात्र राम्रो हुन्छ, भन्ठान्छन् । देशभित्रको वनस्पति कति पौष्टिक उत्तम छ, वास्ता नै गर्दैनन् ।” 

वन जंगलमा खोजेर चेपाङहरुले गिठ्ठा प्रयोग गर्दा त्यसको तीतोपन हराओस् भनेर केही बेर उमाल्ने गर्छन । त्यसपछि तरकारीजस्तै गरेर पकाएर खान्छन् । धेरै गिठ्ठा एकैचोटी जम्मा गरे भने चाहिँ छयाङ् पनि बनाउँछन् ।

संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छन् । पश्चिम अफ्रिकामा चाहिँ यसको अत्यधिक प्रयोग हुन्छ । त्यसैगरी यसको औषधीय गुण र पोषणकै कारण जापान र ब्रिटेनमा पनि लोकप्रिय छ । 

गिठ्ठा शक्तिको राम्रो स्रोत हो । यसमा काब्रोहाइडेट र रेशादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ । यसको प्रयोगले कब्जियत कम गर्छ, कोलेस्ट्रोल पनि कम हुन्छ । साथै यसमा भिटामिन बी र फेलिक एसिड पनि रहेको हुन्छ । गर्भवतीलाई फोलिक एसिड चाहिन्छ ता कि भ्रुणलाई विकलागंता नहोस् ।

यति मात्र होइन यसमा विभिन्न किसिमका सूक्ष्म पोषण जस्तो : म्याग्नेसियम, पोटासियम, लौह तत्व पनि रहेको हुन्छ । गिठ्ठाको प्रयोग संसारका झण्डै ६ करोड मानिसले दैनिक भोजनका रुपमा प्रयोग गर्छन् । नेपालमा गिठ्ठा अपहेलित छ तर यसको प्रयोग मानिसहरुको पोषण बढाउन प्रयोग गर्न सकिन्छ भन्ने कुरा ध्यान दिनैपर्छ । 

अहिलेसम्म त गिठ्ठा केवल जंगलबाट मात्र टिपेर खाने चलन छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।
नेपालमा अक्षय तृतीयामा सातु र शर्वत, यमरी पूर्णिमामा योमरी खाएजस्तै अफ्रिकामा त विशेष प्रकारको पर्व नै मनाइन्छ, गिठ्ठा खानका लागि । त्यहाँ गिठ्ठा पिठो बनाएर केकमा हालेर वा सुप बनाएर खाने चलन छ । जापानमा पनि गिठ्ठाको नुडल पनि बनाउने चलन छ । उनीहरुले दैनिक जीवनमा प्रयोग गर्ने गिठ्ठा हामीले अवहेलना किन गर्नु र रु चाइनामा गिठ्ठाबाट निस्कने रस जस्तो पदार्थलाई बाहिरी घाउ, पिलो आदिमा लगाएर निको पार्ने औषधि बनाइन्छ । 

नेपालको सन्दर्भमा त गिठ्ठा र भ्याकुरको आर्थिक र पोषण युक्त दुवै महत्व छ । सजिलैसँग जस्तो जमीनमा पनि फल्न सक्ने हुनाले यसको खेती सजिलै गर्न सकिन्छ ।

यसलाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता पनि बढ्न जान्छ । यसलाई व्यापारिक दृष्टिले उत्पादन गरेर पिठो, नुडल्स चिप आदि बनाएर आर्थिक रुपमा पनि उन्नति गर्न सकिन्छ । नेपालमा पाइने गिठ्ठामा केही तीतोपना छ । त्यो तीतोपना चाहिँ घरमा पकाउँदा, उमालेर, आगोमा पोलेर निकाल्न सकिन्छ । चेपाङहरुले प्रयोग गर्ने अर्को वनस्पति वन तरुल त माघे संक्रान्तिमा नभई हुँदैन र महँगोमा किनिन्छ । वन तरुलको त तरकारी बनाएर वा उसिनेर खानुपर्छ । पूर्वीय– एशियाका विभिन्न देशमा यो पाइन्छ ।

जुनेलो पनि पौष्टिकताले भरिपूर्ण अन्न हो तर चेपाङहरुले ‘छ्याङ’ र ‘रक्सी’ बनाउनमा यसको बढी प्रयोग गर्छन् । शायद जुनेलोको महत्व बुझेर भोजनका रुपमा प्रयोग गर्ने हो भने चेपाङ बालबालिकामा कुपोषण कम हुन्थ्यो । चेपाङको भाषामा “ताउसी” भनिने अमला पनि भिटामीन सीयुक्त फल हो । चेपाङहरुले प्रकृतिमा सहजै पाइने र जंगलमा गएर अमला टिपेर ल्याएर बेचेर र त्यसको सट्टामा चाउचाउ र बिस्कुट किनेर छोराछोरीलाई ख्वाउँछन् र कुपोषणको शिकार बनाउँछन् । यदि त्यो ठाउँमा अमलाको कति महत्व छ भनेर बुझाइयो भने शायद चेपाङले आफूले पर्याप्त प्रयोग गरेर बाँकी रहेको अमला मात्र बेच्थे कि रु त्रिफला, च्यवनप्रास आदि औषधिमा अमलाको मुख्य भाग हुन्छ भन्ने कुरा शायद उनीहरुलाई थाहा छैन कि ?

सिस्नु पनि चेपाङहरु खान प्रयोग गर्छन् । भिटामीन ए, सी, डी र लौह तत्व, क्याल्सियमजस्ता सूक्ष्म पोषक तत्वले भरिपूर्ण सिस्नु अपहेलित त छ, नै, जताततै आफै फल्ने यो वनस्पति कसैलाई सजाय दिनुपर्ने भयो भने “सिस्नु खालास्, सिस्नु लगाऊँ, बदमासी गरिस्” भन्ने चलन छ । तर “राम्रो काम गरिस् भने सिस्नु खान दिउँला” भन्ने चलन गरे सायद सिस्नुको महत्व बढछ । पाँचतारे होटेलमा त एक ठूलो कचौरा सिस्नोको सुपको झण्डै रु ६०० पर्छ । चेपाङको भान्छामा पकाउदा त्यो अपहेलित हुनुपर्ने कारण नै छैन । 
कालो कर्कलो भन्ने शायद हामीहरुले कमै सुनेको हौला । यसलाई तरकारी बनाएर खान सकिन्छ । फल्ने समय पुस–माघ हो र जम्मा गरेर लामो समय सुरक्षित पनि राख्न सकिन्छ । 

कागुनोको नाम पनि त्यति सुनिंदैन । यसको पिठो र ढिँडो बनाउन सकिन्छ । आँटाको जस्तै विभिन्न परिकार पनि बनाउन सकिन्छ । तर यसको पौष्टिकताको उचित उपयोग गर्नुको साटो ‘जाँड’ बनाएर यसको दुरुपयोग गरिन्छ । अनि चेपाङहरुले खान पाएनन् भनेर खबर पढ्नुपर्छ ।

सिपलिकान ९सिपलिगान० को औषधीय महत्व छ भनेर चेपाङहरुले पनि विश्वास गर्छन् । चेपाङहरुले यसको पत्तालाई पानीमा उमालेर १०–१२ घन्टा त्यसै छाड्छन् र त्यो पानी फालेर पकाउँदा त्यसको तीतोपन पनि जान्छ । अनि तरकारी वा अचार बनाएर खान्छन् । रुघा, खोकी, ज्वरो आदिको घरेलु उपचार गर्न चेपाङले प्रयोग गर्छन् । 

जंगली वनस्पति मन पराउनेहरुले कालो निगुरोको तरकारीको स्वाद धेरै मन पराउँछन् । नदीको किनार र जंगलबाट यो जम्मा गरिन्छ । चेपाङहरुले जा पास भन्ने गर्छन् ।  
त्यसैगरी चेपाङहरुले प्रयोग गर्ने वन कुरिलो, पांग्रा, बयर आदि पनि पोषणका उत्तम स्रोत हुन । तर यिनीहरुले प्रयोग राम्रोसँग हुन नसकेर नै चेपाङहरुलाई भोकमरी भयो भन्ने खबर आउँछ । 

नीम, तीतेपाती, बेसार, अमलाजस्ता वस्तुहरू हाम्रा गाउ“घरमा दैनिक प्रयोग हुने वस्तुमध्ये पर्छन् । तिनलाई केवल खानाका लागि मात्र होइन, औषधिका दृष्टिकोणले पनि ठूलो महत्वका साथ हेरिन्थ्यो । तर, आधुनिक औषधि विज्ञानसँगै हाम्रो गाउँघरका भान्छा र करेसाबारीमा पाइने औषधिहरू विस्थापित हुँदै गए र हामी महँगा औषधितर्फ बढी आकर्षित हुन थाल्यौं । साधारण किसिमका समस्याहरूको निराकरणका लागि पनि ट्याब्लेट र सुईको भर पर्न थालेका छौँ किनभने रैथाने ज्ञानलाई आदर नै गर्दैनौं ।

हाम्रा वरिपरि यति धेरै औषधि छन्, तर हामी तिनको महत्त्व नै जान्दैनौं र बेवास्ता गर्छौं । तीतेपाती कान्ला कान्लामा फल्छ र यसमा कीटाणु मार्ने शक्ति हुन्छ । अकुप्रेशर र चाइनीज परम्परागत औषधिमा पनि यसको प्रयोग पर्याप्त हुन्छ । सुकेको तीतेपाती पोल्दा निस्कने धुवाँले लामखुट्टे नआउने भएकाले कतिपय ठाउ“मा यसको प्रयोग गरिन्छ 
त्यस्तै अति नै पोषणले भरिपूर्ण अर्को वनस्पति छ, सजीवन, जसको तरकारी बनाएर हामी कहिलेकाहीँ खान्छौँ । तर सजीवन तरकारी मात्रै होइन कि कुपोषण नहोस् भनेर यसको प्रयोग वा कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि त यसले संजीवनी नै हो भन्ने तथ्य पनि प्रायः हामीलाई थाहा छैन । तराईको त घरघरमा सजीवन हुन्छ, सडकका छेउमा पनि यो रुख हुन्छ ।

सजीवनलाई कति जनाले शीतल चिनी पनि भन्छन । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मुङा र कतै सहिजन पनि भन्छन् । विभिन्न वैज्ञानिकहरुको भनाइ अनुसार सजीवनजस्तो गुण भएको विरुवा अर्को पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा जत्तिकै गुणकारी हुन्छ र अझ कति जनाले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन सजीवनमा पाइन्छ भन्छन् ।

अंग्रेजी भाषामा मारिन्गा भनिने यो वनस्पतिको बारेमा विश्व स्वास्थ्य संघले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान पनि गर्दैछ । सजीवनको पात पनि उत्तिकै पौष्टिक छ । यसमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् सजीवनको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसको साथै पातमा भिटामिन सी पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैंमा दिएको उपहार हो सजीवन । तर तराईतिर जताततै पाइने यो पौष्टिक उपहार अपहेलित छ । स्वास्थ्य मन्त्रालय बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधी बाँड्दै हिँड्छ । तर समुदायलाई र आमालाई करेसा वरिपरिको सित्तैंमा पाइने सजीवन खानु भनेर सिकाउँदैन ।