केएमसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

केएमसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा मुकुन्द राज जोशीले जानकारी दिए ।

नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।