नेकपा स्थायी कमिटी बैठक थप ७ दिनका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक थप ७ दिनका लागि स्थगित

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक थप सात दिनलाई स्थगित भएको छ। अघिल्लो बिहीबार बसेको बैठक पटकपटक स्थगित हुँदै आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

बैठक सात दिन स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन्।‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, श्रेष्ठले ट्विट गरेका छन्।

नेकपामा विवाद चर्किँदै जाँदा बैठक स्थगित गरेर संवाद गर्ने रणनीति अपनाइएको थियो। सोही अन्तर्गत नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन लगातार एक्लाएक्लै संवाद गरिरहेका थिए। तर, गत बुधबारको बैठक तिक्ततापूर्ण बनेपछि बिहीबार भने बैठक बसेनन्।