अमेरिकामा पढिरहेका १३ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

अमेरिकामा पढिरहेका १३ हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं । अमेरिकी विश्वविद्यालयमा अनलाइन कक्षामात्रै लिने विदेशी विद्यार्थीको भिसा सेप्टेम्बरदेखि रद्द हुने खबरसँगै नेपाली विद्यार्थीमा चिन्ता थपिएको छ । देशनिकालाको यो नियम एफ-वन भनिने अध्ययन भिसा र एम-वन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसावालालाई लागु हुने अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई)को स्टडेन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्रामले जनाएको छ ।

सन् २०१९ सम्म अमेरिकामा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी थिए । त्यहाँ विदेशी विद्यार्थीको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ। ‍आईसीईको पछिल्लो नियमले कति नेपाली विद्यार्थीलाई असर पर्छ भन्ने चाहिँ स्पष्ट छैन । तर थुप्रै नेपाली विद्यार्थीले कानुनी रूपमा अमेरिका बस्न नपाउने अवस्था आउन सक्छ ।

आईसीईले नयाँ शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने र भौतिक रुपमै पढाइ हुने कलेज तथा विश्वविद्यालयमै ट्रान्सफर गर्न सुझाव दिएको छ । यो निर्णयसँगै अमेरिकामा विभिन्न तालिममा सहभागी हुन गएका हजारौं विदेशी विद्यार्थी पनि मर्कामा पर्ने भएका छन् । थुप्रै विद्यार्थी हप्तामा ४० देखि ४५ घण्टा पार्टटाइम काम गरेर कलेज तथा विश्वविद्यालयमा पढिरहेका थिए ।

कोरोनाभाइरस महामारीका कारण हार्भर्डलगायत थुप्रै अमेरिकी विश्वविद्यालयले नयाँ शैक्षिक सत्र अनलाइनमै सञ्चालन गर्न थालेका छन् । प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थी अध्ययनका लागि अमेरिका जान्छन् । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए ।
अमेरिकी विश्वविद्यालयहरुले विदेशी विद्यार्थीलाई आईसीईको नयाँ नियमबारे जानकारी दिएका भने छैनन् । विदेशी विद्यार्थीहरूका लागि अध्ययन कार्यक्रमको बीचमा घरफिर्ती व्यावहारिक नभएकाले चौतर्फी आलोचना भइरहेको छ । 

कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै डोनाल्ड ट्रम्प सरकारले आप्रवासन नीतिमा व्यापक फेरबदल गरिरहेको छ । यसले अमेरिकामा रहेका आप्रवासी र अमेरिका जाने तयारीमा रहेका विदेशी नागरिक समस्यामा परेका छन् ।