काठमाडौं उपत्यकामा संक्रमितको संख्या २७६ पुग्यो, कहाँका छन् संक्रमित ?

काठमाडौं उपत्यकामा संक्रमितको संख्या २७६ पुग्यो, कहाँका छन् संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित देखिएका हुन् ।  हालसम्म उपत्यकाका काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित भएका छन्। योसँगै उपत्यकामा तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना संक्रमण देखिएको हो।

काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंका चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर,  भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २०४ जना संक्रमित थपिएका छन्। यो संगै देशभर कूल संक्रमितको संख्या १६ हजार१ सय ६८ पुगेको छ।