काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
यसअघि सोमबार १ सय ८० संक्रमित भेटिएका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना भेटिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम र बैतडीका ११-११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १-१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। गत २४ घन्टामा गरिएका परीक्षणमध्ये किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ।
यस्तै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १-१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १-१ जनामा कोरोना पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका दुई जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यान र सुर्खेतका ५-५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ४९९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।