काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा वर्तमान राजनीतिक घटनाक्रमबारे र सरकारको कार्यशैलीमा छलफल भएको छ ।
जनता कोरोनाले आक्रान्त भएको बेला केपी ओली र उनका पार्टीका मान्छे कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेकोले सरकारलाई काम गर्न दबाब दिने निष्कर्षमा २ पार्टी पुगेका छन् । छलफलमा संसद अधिवेशन अन्त्य गरिएको विषयमा पनि छलफल भएको पनि जसपा नेता राजेन्द्र महतोले बताए ।
नागरिकता विधेयकको विषयमा पनि सामान्य छलफल भएको देउवानिकट स्रोतले बतायो। अंगीकृत वैवाहिक नागरिकतामा सात वर्षे प्रावधान तत्कालै फिर्ता लिएर अहिले संविधानमा भएको व्यवस्थालाई नै कायम गर्न कांग्रेस र जसपाका सांसदहरुले सरकारलाई दबाब दिइरहेका छन् ।
नेकपाले र संसदीय समितिले भने विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरिसकेका छन्। नागरिकता विधेयक अहिले संसदमा छ। महतोले नागरिकता विधेयक संविधानको मर्म विपरीत ल्याइएको पनि बताए। बूढानीलकण्ठमा भएको भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सहभागी थिए। जसपाको तर्फबाट उपेन्द्र यादव, डा बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी थिए ।