काठमाडौं । नेकपाभित्र देखिएको विवाद समाधानको प्रयासस्वरुप अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवारकाे छलफल सकिएकाे छ । अध्यक्षद्वयबीच हिजो सोमवार र अस्ति आइतवार पनि छलफल भएको थियो ।
आज अध्यक्षद्वयबीचको वान टु वान वार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्वयबीचको भेटवार्तामा विवादको विषय स्थायी कमिटी बैठकबाटै हल गर्ने सहमति भएको छ ।
आजको वार्तालाई निर्णयक भनिएपनि त्यस्तो हुन सकेन । तर आजको वार्तामा पार्टीलाई फुटबाट जोगाउने आधार तय भएको बताइन्छ । स्थायी कमिटीको सामना गर्न ओली तयार भएसँगै नेकपाको विवादले निकास लिने अपेक्षा गरिएको छ ।
यससँगै भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने भएको छ । दुई अध्यक्षबीच सहमति हुन नसकेका विषय स्थायी कमिटी बैठकमै सहमति खोज्न ओली र प्रचण्ड सहमत भएका हुन् ।
सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरिएको थियो ।