काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २३ जना र ललितपुरका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका थप १ जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यससँगै काठमाडौंमा संक्रमितको संख्या १५४ पुगेको छ ।
काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।
देशभर विगत २४ घण्टायता नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
आज २६४ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्ने संक्रमितको संख्या ६ हजार८११ पुगेको छ । हालसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।