काठमाडौंका २७ जनामा कोरोना पुष्टि, कहाँ छन् १३० संक्रमित ?

काठमाडौंका २७ जनामा कोरोना पुष्टि, कहाँ छन् १३० संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन् ।

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।