संस्मरण

चर्चा हिमालको : नाक नेपालको

चर्चा हिमालको : नाक नेपालको

युन्नान प्रान्तका प्रमुखको उद्घाटन मन्तव्य चल्दैछ । युन्नान पुलिस अफिसर्स एकेडेमीको सभाकक्ष भरिभराउ छ र अगाडि मञ्चमा राखिएका छौं– नेपालबाट चीन घुम्न गएका गृह मन्त्रालयको ‘व्यवस्थापनस्तरीय’ १० सदस्यीय टोलीका हामी । सिंगै प्रेक्षालय चिनियाँ प्रहरीका उच्चाधिकारीहरूले भरिएको छ र प्रमुखको भाषण जारी छ । नेपाली चलनअनुसारको पानस, सुकुन्दा, कैंची र रिवन केही पनि छैन यहाँ । अनि यी सबै थोक बोकेर हिँड्ने कोही थालीवाली पनि छैन । यही भाषणले कार्यक्रमको उद्घाटन गर्दैछ ।

प्रत्येक वाक्यको समाप्तिपछि दोभाषे सुन्दरी सक्रिय हुन्छिन् । उनी सक्रिय भएका बेला हामी पनि सक्रिय हुन्छौं । कारण उनले त्यही वाक्यलाई अंग्रेजीमा भनिदिन्छिन् र हामीले पनि बुझ्छौं । मूल वक्ताले बोलुन्जेल चिनियाँ प्रहरीहरूले मात्र बुझ्छन् र सोही अनुसारको हाउभाउ देखाउँछन् । हामी त्यो बेला ट्वाँ परेर दृश्य मात्र हेरिरहन्छौं र कहिले त्यो वाक्य पूरा होला र झाङ—दोङ—नीले हाम्रा लागि अनुवाद गरिदेलिन् भनेर पर्खिरहन्छौं । 

भाषण जारी छ । उनी बीच बीचमा ‘निपोआर’ र ‘सिमालाया’ भन्दैछन् । मैले यी दुई शब्दबाहेक केही बुझेको छैन र दोभाषेको अनुवाद पर्खनुबाहेक अर्को उपाय पनि छैन । तैपनि चिनियाँ भाषामा ‘निपोआर’ भनेको नेपाल र ‘सिमालाया’ भनेपछि ‘हिमालय’ हुन्छ भन्ने बुझेको हुनाले पहिलेभन्दा अलि बढी सचेत भएर वक्ताको मुखैमा दृष्टिविन्दु जमाएर बसेको छु । 

हो रहेछ । मेरो शंका सत्य ठहरिएछ । झाङ दोङ नीले भनेपछि पो थाहा भयो, उनले यो वाक्यमा भनेका रहेछन्, “साथीहरू, तपाईंहरूका हातमा अहिले राम्रो मौका आएको छ । नेपालीहरू यहाँ आएका बेला तपाईहरूले हिमालयबारे राम्रो जानकारी लिनोस् । हामीले सिक्ने मौका गुमाउनै हुँदैन । जसरी अरब भूमिबाट आएका मान्छेसँग हामी मरुभूमिबारे सिक्छौं, त्यसरी नै नेपालबाट आएको यो टोलीसँग तपाईंहरूले हिमालबारे सोध्नोस्, बुझ्नोस् र हिमालयबारे आफूलाई जान्ने बनाउनोस् ।” 
       

“लौ न अब के गर्ने होला ?” टोली नेताले चिन्ता पोखे । “यो हिमालको विषयले त बित्याँसै पार्ला जस्तो छ ।” 
“त्यै त भन्या, मलाई पनि यो विषयमा त केही थाहै छैन । हिमालतिर गा’को भा’पो ... ! भैया, अब जे गर्नुछ तपाईले नै गर्नु । हिमालको विषयमा कुरा गर्नु पर्ने भएपछि हामीलाई के थाहा छ र सल्लाह गरिरहनु पर्यो रु जे गर्नु छ, आफैं गर्नोस् ।” लक्ष्मीदाइले मतर्फ जिम्मेवारी सार्नुभयो । 

भोलासरले तत्कालै समर्थन जनाउँदै भन्नुभयो, “लौ सर मौका यही हो । जमाएर दिऊँ ।”
के दिने जमाएर ? हामी कसैलाई पनि थाहा थिएन । हलल्ल हाँस्यौं मात्र, हलको एउटा कुनामा जम्मा भएर ।

कार्यक्रम सुरु भयो । लेक्चर सेसनहरू सुरु भए तर मेरो दिमाग आफूलाई प्राप्त हुन आएको यो नयाँ र अनपेक्षित जिम्मेवारीकै वरिपरि घुमिरह्यो । मनमा यस्तै कुरा खेलाउँदै एक दिन कोअर्डिनेटर वाङ यानलाई सोधेको त उनीहरूले हाम्रो ‘सहसचिव’ र त्यसको अंग्रेजी शब्द ‘ज्वाइन्ट सेक्रेटरी’ लाई त राम्ररी बुझेकै छैनन् भन्ने पत्तो लाग्यो । चिनियाँ प्रशासनमा ‘डाइरेक्टर जनरल’ र यसको छोटकरी रुप ‘डिजी’ लाई सबैले बुझ्दा रहेछन्, तर त्यसैले समकक्षी शब्द ‘सहसचिव’लाई नबुझेका कारण हामीलाई सामान्य स्तरको कक्षा लिइएको रहेछ भन्ने बल्ल थाहा भयो । 

यसपछि सबैको नयाँ परिचय बनाएर बताएँ, ताकि उनीहरूले हाम्रा सहभागीहरूलाई ठीक ढंगले चिन्न सकून् । उदाहरणार्थ, काठमाडौंका प्रजिअ लक्ष्मी ढकाल ‘डिजी, क्यापिटल सेक्युरिटी’ भए भने टोली नेता भोला शिवाकोटीजी ‘डिजी इन्टरनल म्यानेजमेण्ट, मिनिस्ट्री अफ होम अफेयर’ भए र म स्वयंचाहिँ ‘डिजी इन्ट्री-एक्जिट म्यानेजमेण्ट’ भएँ । हामीले एक शब्दमा भन्ने गरेको अध्यागमनलाई त्यतातिर इन्ट्री÷एक्जिट म्यानेजमेण्ट’ भनिँदो रहेछ ।

अब बल्ल उनीहरूले हामीलाई राम्ररी चिने । भोलिपल्टै तालिमको सम्पूर्ण रुपरेखा नै फेरियो । तीन–तीन जना डिजी रहेको हाम्रो टोलीले सुरक्षा गार्ड पनि पायो । खानपिनमा, बसाइमा, तालिमका कक्षामा र हामीप्रति गरिने व्यवहारमा ठूलो अन्तर आयो । 

“मलाई ठूलो संख्यामा श्रोता र एकजना राम्री दोभाषे पनि दिनोस् चिनियाँमा अनुवाद गर्न ।” मेरो कुरो सुनेपछि प्रतिष्ठानका अध्यक्ष मि। बाओ झन खुसी भए । 
“म तपाईंका सबै माग पूरा गर्छु, हल योभन्दा ठूलो हुनेछ । साउण्ड सिस्टम झनै उत्तम हुनेछ । तपाईंको भाषण सुन्ने हाम्रा अधिकारीहरूको संख्या झन्डै पाँच सय हुनेछ । अनि यी सुन्दरी दोभाषे झाङ दोङ नी पनि आजदेखि तपार्इंकै जिम्मा । अब आफ्नो प्रस्तुतिका लागि तयारी थाल्नु भए हुन्छ ।” 

म ख्यालख्यालमै एउटा ठूलो समस्यामा फँस्दै थिएँ । म ख्यालख्यालमै मुलकको प्रतिष्ठासँग जोडिदै थिएँ । मैले मनमनै माता सरस्वती र आफ्नै झोलामा रहेको एक थान ‘सगरमाथाको आधारशिविरबाट’ नामक पुस्तकलाई सम्झे । मैले आफ्नै यो एक थान किताब किन झोलामा हाले हुँला भन्ने सम्झेर दंग परेँ र आफ्नो मुलुक, ती उन्नत हिमशिखर र तिनका सन्तान कीर्तिमानी पर्वतारोही शेर्पाहरूलाई क्रमैसँग सम्झे । मैले आफ्नै गोडाहरूलाई पनि धन्यवाद दिएँ, जसले मलाई मेरै मुलुकका अनेक सुन्दर स्थलहरूमा पुर्याएर सकुशल फर्काएका थिएँ । वास्तवमा यो एउटा अवसर पनि थियो, आफ्नो देशका बारेमा बोल्ने । त्यसैले मैले सर्वप्रथम छुटाउनै नहुने कुराहरूको एउटा सूची बनाएँ ।

त्यसपछि एकदमै छोटो र बुँदागत रुपमा आफ्नो प्रस्तुतिलाई बुलेटमा तयार पारेँ ताकि प्रत्येक वाक्यको अन्तरालमा चिनियाँ अनुवाद प्रस्तुत गर्न सकियोस् । दुई बेलुकामा मेरो लेखन सकियो । अर्को दुई बेलुका लगाएर त्यो ‘पाठ’ लाई चिनियाँमा अनुवाद गरिन् झाङ दोङ नीले । 

चार बेलुकाको परिश्रमले अंग्रेजी र चनियाँ दुवै भाषामा हाम्रा कुराहरू तयार भए । वास्तवमा यी कुराहरू मात्रै थिए– कुनै शृंखला र कथानक थिएन । यो सेमिनारको शीर्षक नै उनीहरूले हामीलाई ‘अध्यागमन’ कार्यविधिबारे जानकारी दिने थियो । हाम्रा प्रस्तुतिको कार्यक्रम नै थिएन सुरुमा । पछि उनीहरूकै मागअनुसार हामीले आफ्नो मुलुकका विशेषताबारे बताउने मौका पाएका थियौं । यो मौकालाई सकेसम्म प्रभावपूर्ण बनाउन म लागिरहेको थिएँ भने मेरो भनाइलाई जस्ताको तस्तै चिनियाँ भाषामा उतारेर दर्शक-श्रोतालाई छक्क पार्ने धूनमा थिइन्– सुश्री झाङ पनि ।

एक साँझ त्यो ठूलो हलको भव्य मञ्च मलाई जिम्मा लगाइयो । पावर प्वाइन्टका लागि भित्ताभरिको पर्दा तयार थियो । मञ्चको केन्द्रीय भागमा म र मेरो दाहिनेतिर झाङ थिइन् । मेरो देब्रेतिर त्यस कार्यक्रमका लागि उनीहरूले नै बोलाएका विशिष्ट आमन्त्रितहरू थिए, ५-६ जना जति । नेपाली टोली प्रेक्षालयको पहिलो पंक्तिमा थियो । 

मैले उचित सम्बोधनपछि आफ्नो प्रस्तुति सुरु गरेँ । बोलाइको प्रवाह काटेर अनुवादका लागि रोकिँदा त्यति मज्जाचाहिँ आउँदो रहेनछ । तैपनि सकेसम्म राम्रै गर्दैछु जस्तो लाग्दै थियो । 

“संसारमा ८,००० मिटरभन्दा बढी उचाइ भएका हिमालहरूको संख्या १४ छ र नेपालमा पनि यस्ता हिमालहरू १४ वटै छन् ।” 
सबै छक्क परे । अनि बल्ल मैले यसको रहस्य खोलेँ । “यसरी विश्वव्यापी गणना गर्दा एउटा शृंखलाबाट एउटा मूल हिमाललाई मात्र गन्ने गरिन्छ । यसरी गन्दा त्यस्ता हिमालहरू नेपालमा ८ वटामात्रै छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, धवलागिरी, मनास्लु र अन्नपूर्ण । कञ्चनजंघाभित्र अरु ४ वटा र ल्होत्सेभित्र अरु २ वटा हिमाल पनि ८ हजार मिटरभन्दा माथिका रहेकाले तपाईंहरूको प्यारो छिमेकी देश नेपालमा यस्ता हिमाल १४ वटै छन् । कस्तो रमाइलो संजोग, होइन त ?” 
बल्ल सबैले रहस्य बुझे र रमाइलो पनि माने । दंग पनि परे । थपडी पनि बजाए ।

“नेपालमा रहेका यी ८ वटा हिमालमध्ये सगरमाथा, मकालु, चोयु र ल्होत्से नेपाल र चीनको सिमानामा पर्ने हिमाल हुन् । चुचुराहरू नेपालतर्फ परे पनि यी हिमालहरू तपाईंहरूका पनि सम्पत्ति हुन् । यिनको संरक्षणमा तपाइहरूको पनि जिम्मेवारी छ । त्यसैले ‘निपोआर सिमालाया’ मात्र होइन, ‘चुङ्कुओ सिमालाया’ पनि भन्न सिक्नु राम्रो हुनेछ ।”

उनीहरू पनि गजक्क परे । खुसीले फुले र ताली बजाए । मैले निकै बेर रोकिनु पर्यो । पर्दामा यी चारवटा गौरवशाली हिमालका आकृतिहरू धेरै बेरसम्म तैरिरहे ।
“यी १४ वटाबाहेक नेपालमा ७,००० मिटरमाथिका हिमाल १२२ वटा र ६,००० मिटरमाथिका हिमालको संख्या १,४०० भन्दा बढी रहेको छ । ६ हजार मिटरभन्दा तलका त हिमाल नै होइनन् नेपालका लागि ।”

- “यी १४ वटा हिमालमध्ये चीनको एकलौटी हिमाल ‘शिशापाङ्मा’ विश्वको चौधौं अग्लो हिमाल हो । दोस्रो, नवौं, एघारौं, बाह्रौं र तेह्रौं ५ वटा हिमाल पाकिस्तानमा पर्छन् । सातौं र आठौं अग्ला हिमाल नेपालभित्रै पर्छन् । पहिलो, चौथो, पाँचौं र छैठौं हाम्रा दुई देशका (नेपाल–चीन) का सिमानामा र तेस्रो अग्लो हिमाल नेपाल–भारत सिमानामा पर्छ ।”
“संसारको सर्वोच्च उचाइमा पर्ने सीमारेखा नेपाल र चीनकै हो । यो दुवै देशका लागि गर्वको विषय हो ।”

- “सगरमाथाको झण्डै दुई तिहाइ शरीर तपाईंहरूको देशमा पर्छ । तर त्यसको चुचुरोचाहिँ नेपालमा पर्छ ।”
“चीनतर्फबाट मकालु हिमाल चढ्न जाने टोलीले आरोहणका लागि दुई किलोमिटरजति नेपाली भूभागभित्र छिर्नुपर्ने हुन्छ । हामीले यो विषयमा बडो उदारतापूर्वक तपाईंहरूलाई सहयोग गरिरहका छौं तर नेपालतर्फबाट चोयु चढ्न आउने टोलीले ५ सय मिटरजति चिनियाँ भूभागमा कुल्चनु पर्छ । तपाईंहरूको सीमा चौकीले छिर्नै नदिएका कारण सन १९९४ देखि नेपालका लागि यो हिमाल उपयोगविहीन भएको छ । बुझ्नुपर्ने कुरा के छ भने तपाईंहरूका तर्फबाट चढ्ने टोलीले पनि भौगोलिक अवस्थाका कारण दोस्रो क्याम्पचाहिँ विशुद्ध नेपाली भूमिमै खडा गरेको हुन्छ । पारस्परिकताका आधारमा तपार्इंहरूका तर्फबाट पनि एउटा छिमेकीलाई यति सानो सहयोग गरिदिए हामी धेरै नै आभारी हुने थियौँ ।”

हलमा सन्नाटा छायो । सबैले छक्क परेर हेरे मलाई । धेरैजसोका आँखामा ‘हो र ?’ भन्ने भाव देखियो । तर मेरो आत्मविश्वास देखेर होला कसैले पनि कुनै प्रश्न उठाएन ।
“सबैभन्दा बढी अर्थात् २१ पटक सगरमाथाको आरोहण गर्ने यो संसारको एकमात्र मान्छे आपा शेर्पा नेपाली हुन् ।”

- “नेपाली जोडीले सगरमाथाको शिखरमा गएर पनि विवाह गरेका छन् । युवक पे्रम दोर्जी र युवती मोनी मुलेपतिको यो विवाह अन्तर्जातीयसमेत थियो ।” 
मैले उनीहरूलाई जिस्क्याएँ पनि, “तपाईंहरू पनि नेपाल गएर यस्तै विवाह गर्ने कि ?”

टररर...ताली बज्यो । वर्षौंपछि चिनियाँ भूभागबाट समेत यो विवाहको समर्थनमा ताली बज्यो । म पनि दंग परेँ । 

“तपाईंहरूलाई थाहै होला, नेपाली आरोही लाक्पा थार्के शेर्पाले सगरमाथाको शिखरमा पुगेपछि कम्मरमाथिका सबै लुगा फुकालेर ३ मिनेटसम्म नांगै बस्ने दुस्साहसिक कार्य गरेका थिए । त्यो बेला त्यहाँको तापक्रम माइनस (-०४) डिग्री सेल्सियस थियो ।”

“सबैभन्दा चाँडो सगरमाथा चढ्ने प्रथमदेखि पाँचौं स्थानसम्म रहेका आरोहीहरू सबै नेपाली नै हुन् । यो रेकर्डअनुसार पेम्बा दोर्जी शेर्पा (८ घण्टा १० मिनेट) ल्हाक्पा गेलु शेर्पा (१० घण्टा ५६ मिनेट), पेम्बा दोर्जी शेर्पा (१२ घण्टा ४५ मिनेट) बाबुछिरी शेर्पा (१६ घण्टा ५६ मिनेट) र काजी शेर्पा (२० घण्टा २४ मिनेट) को रेकर्ड अहिले पनि पर्वतारोहणको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।”

“एउटा नेपाली शेर्पा परिवारमा ७ भाइ छोरा छन् । ती सातै भाइले गरेर कुल ३४ पटक सगरमाथा चढेका छन् ।”
“सगरमाथाको सफल आरोहण गर्ने विश्वकै प्रथम महिला जापानकी जुन्को ताबेई हुन् । उनले १६ मे १९७५ का दिन सगरमाथा टेकेकी थिइन् । त्यस्तै दोस्री महिला चीनकी फान्तोङ हुन् । उनी तावेईभन्दा ११ दिनपछि अर्थात् १९७५ मे २७ का दिन शिखरमा पुगिन् ।”

“सगरमाथाको चुचुरोमै २१ घण्टा बिताएर आधुनिक चिकित्सा विज्ञानलाई नै चुनौती दिने नेपाली आरोही बाबुछिरी शेर्पा हुन् ।” 
“सगरमाथाको आरोहणको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो दल भनेको कुन हो रु तपाईंलाई थाहा छ ? १९७५ मा सगरमाथा चढ्न गएको यो टोलीमा जम्मा ४१० जना थिए । र, यो टोली चिनियाँ टोली थियो ।”

हलमा धेरै बेर ताली गुञ्जिरह्यो । सुनेर गौरव माने, उनीहरूको जम्बो टोलीलाई हालसम्म कसैले जितेकै रहेनछ । 
“सगरमाथा चढेका हालसम्मका सबैभन्दा बुढो मान्छे नेपालका मीनबहादुर शेरचन हुन् । मे ८, २००८ मा दिन शिखरमा पुग्दा अनको उमेर ७६ वर्ष ११ महिना  ५ दिनको थियो ।”

“नेपाली हिमालका नामका पछाडि ‘चे’ ‘री’ र ‘खाङ’ र शब्द धेरै आउँछन् । जस्तो कि बरुञ्चे, थोराङरी र यालुङखाङ ।”

यस्तै अनेक कुरा भए । हिमालबारे उनीहरूले धेरै पटक प्रश्नहरू पनि उठाए । आरोहणको प्रविधिक र ऐतिहासिक पक्षबारे पनि प्रश्न उठे । चिनियाँहरूले आफ्नै भाषामा सोध्थे, झाङले मलाई अंग्रेजीमा सुनाउँथिन्, म अंग्रेजीमा जवाफ दिन्थें । अनि पुनः त्यसलाई चिनियाँमा रुपान्तरण गरेपछि बल्ल कुरो बुझिन्थ्यो र उनीहरू हाँस्नुपर्ने ठाउँमा हाँस्थे । 
चार घण्टा यसरी नै रमाइलो गरी बित्यो । दुई घण्टा पूरै हिमालका बारेमा, १ घण्टा अध्यागमनका बारेमा र अर्को एक घण्टा प्रश्नोत्तरका रुपमा । चिनियाँ अनुहारहरूमा सन्तुष्टि देखिन्थ्यो । लाग्थ्यो, आज उनीहरूले आफ्नै सम्पदाका बारेमा धेरै थाहा पाए । हिमाली क्षेत्रको पर्यावरण र ग्लोबल वार्मिङका बारेमा पनि केही थाहा पाए । हिमाल र यसको खतराबारे पनि बुझे । सबैभन्दा ठूलो कुरा मैले गरेको ‘सगरमाथाको आधारशिविर कस्तो छ ?’ भन्ने वर्णन सास पनि रोकेर सुने । आश्चर्यचकित भए र नेपाल घुम्न आउने कुराहरू सुनाए । 

बुद्धको जन्मस्थलबारे उनीहरूमा रहेको भ्रम पूरै मेटियो । मैले त पटक पटक “बुद्ध कहाँ जन्मिएका थिए रे ?” भनेर सोध्ने अनि उनीहरूलाई “नेपालमा” भन्न लगाउने ड्रिल मेथड पनि अपनाएँ । हाम्रा साथीहरू त पूरै मन्त्रमुग्ध भएर मलाई नै हेरिरहेका देखिन्थे । 

“तपाईंहरूलाई लाग्दो हो– यति विघ्न हिमाल बोकेको तपाइको १६ वटामध्येको एउटा छिमेकी देश निपोआर पक्कै पनि विशाल हुनुपर्छ । हो, हामी विशाल छौं, तर प्रकृतिमा अनि संस्कृतिमा । हामी क्षेत्रफलमा चीनभन्दा ७५ गुणा सानो छौं । तर पूरा चीनमा २६ जनजाति छन् भने नेपालमा ६१ छन् । यो देश ७० मिटरबाट सुरु हुन्छ र ८,८४८ मिटरमा टुंगिन्छ । सोच्नोस् त के पाइन्न होला र नेपालमा ? सानो छ, तर स्वर्ग छ ।” 

मेरो समापन वाक्य यसरी निस्कियो ।
कार्यक्रम सकियो । समापनको घोषणाको अंग्रेजी अनुवाद सुन्दा हामी सबैको आङ जिरिंग भयो, उत्तेजनाले । प्रेसिडेण्टले भनेका रहेछन्, “यो प्रस्तुति यस्तो प्रभावकारी हुन्छ भन्ने पहिले नै जानेको भए हामीले अझै ठूलो उपस्थितिका बीचमा राख्थ्यौं । २—३ पटक राख्थ्यौं । आज हामीले धेरै कुरा सिक्ने मौका पायौं । हामीलाई पानी पिलाउने हिमाललाई चिन्ने मौका पायौं । ती नेपाली विद्वान्लाई म मनैदेखि आभार व्यक्त गर्दै ‘प्रोफेसर’ भनेर सम्बोधन गर्न चाहन्छु र यस प्रतिष्ठानको प्रतीक चिह्नद्वारा विभूषित पनि गर्छु । नेपालका मिस्टर ढकाल यहाँ आउँदा ‘डिजी’ हुनुहुन्थ्यो, अब ‘प्रोफेसर’ भएर फर्कँदै हुनुहुन्छ ।”

मलाई मञ्चको बीचमा बोलाइयो । युन्नान पुलिस अफिसर्स एकेडेमीको ठूलो र सुनौलो प्रतीक चिह्न दिइयो र धाप मार्दै भनियो, “बधाई छ प्रोफेसर ढकाल ।”
कोठामा आइपुगेपछि मैले त्यो ठूलो पोको टिम–लिडरलाई दिँदै भनेँ, “लौ सर, यो लिनोस्, नेपालले कमाएको उपलब्धि । हाम्रो उपलब्धि ।” 

मेरो कुरो भुइँमा पनि खस्न नपाउँदै भोला सरले प्रतिवाद गर्नुभयो, “भुत्राको हाम्रो उपलब्धि ? यो त विशुद्ध तपाईंको उपलब्धि हो । तपाइ नभएको भए आज हामी नराम्रोसँग फँस्ने रहेछौं । धिक्कार हो हामीलाई पनि जो आफ्नै देशका बारेमा समेत केही जान्दैनौं ।”

अनि खिन्तता व्यक्त गर्दै भन्नु भो— “म त नाम्चे पनि पुग्या छैन नि सर ।”
अरु आठजनाले पनि त्यसै भने । यो वक्ताले चीनसम्बन्धी किताबसमेत लेखेको छ रे भन्ने हल्ला भएपछि त भोलिपल्टदेखि मैले ठूलाठूला मान्छेहरूलाई समेत अटोग्राफ दिनुपर्ने स्थिति आयो । हाम्रो टोलीको इज्जत नै बढ्यो । खुकुरी नृत्यसमेत देखाएपछि त हामी कलाकारसमेत भयौँ ।

आदरणीय पाठक ! 

मैले आफ्नो बखान गर्न यो लेख लेखेको होइन । प्रकृतिले हामीलाई ‘हिमाल’ दिएको छ र हामीले त्यसलाई प्रचार मात्र गर्न सक्यौं भने पनि स्वतः हाम्रो इज्जत उठ्छ भन्नका लागि मात्र यत्रो लामो कुरो गर्नुपरेको हो ।

कतै विदेश जाँदै हुनुहुन्छ भने झोलामा ‘सगरमाथाको आधारशिविरबाट’ नामक पुस्तक एक थान राख्न नछुटाउनु होला । यसले तपाईंलाई ‘जिरो’ हुनबाट जोगाउने मात्र होइन कि मौका परे पूरै ‘हिरो’ बनाउनेछ । ठ्याक्कै यो वर्णनमा मलाई मौका परेजस्तै । 

(ढकाल ‘सगरमाथाको आधारशिविरबाट’ पुस्तकका लेखक हुन् ।)