काठमाडौं । तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका बम्जनविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सर्लाहीले बिहीबार साँझ बालबालिका सम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।
सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनसहित ३ जनालाई प्रतिवादी बनाइएको छ । जसमा मुख्य प्रतिवादी रामबहादुर बम्जन नै छन् भने उनलाई सघाएको आरोपमा आश्रम प्रमुख ज्ञानबहादुर बम्जन र जेवी गुरु भनिने जितबहादुर तामाङ छन् ।
गौतमका अनुसार बम्जनलाई १४ वर्षसम्म र अरु दुई जनालाई त्यसको आधा सजायको मागदाबी गरिएको छ । यसअघि पटक–पटक प्रहरीले बम्जनको आश्रममा छापा मारेको भए पनि उनलाई फेला पार्न सकेको छैन ।
हाल तीनैजना फरार छन् । बम्जनले ०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौन शोषण र बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ०७६ माघमा उजुरी परेको थियो ।