काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले पार्टी एकता हुँदाको सहमति अनुसार अघि बढन नेतृत्वलाई आग्रह गरेका छन् । आज नेकपा स्थायी समिति सदस्य घनश्याम भुषालको मन्त्री निवासमा भएको दोस्रो तहका नेताहरुको भेलाले नेतृत्वलाई पार्टी एकताको आधारबाट पछि नहट्न आग्रह गरेको हो ।
पार्टी गम्भीर संकटमा रहेकाले यसलाई जोगाउन पहल गर्ने निर्णय पनि युवा नेताहरुले गरेका छन् । पार्टी र सरकार दुबैको नयाँ ढंगले मुल्यांकन गर्नुपर्ने नेताहरुको भनाइ छ । युवा नेताहरुले शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न आग्रह पनि गरेका छन् । सडकमा प्रदर्शन रोक्न पनि युवा नेताले आग्रह गरेका छन् ।
स्थायी समिति सदस्यहरुले छलफलको निष्कर्षलाई लिएर दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी घनाश्याम भुसाललाई दिएको छ । छलफलमा स्थायी समिति सदस्य शंकर पोखरेल, योगेश भट्टराई, शक्ति बस्नेत, वर्षमान पुन, बिष्णु रिमाल सहभागी थिए । त्यस्तै स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा पनि बैठकमा सहभागी रहेको बताइएको छ ।