काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीको मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली इत्तर समूहले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेकापछि नेकपा फुटको संघारमा पुगेको चर्चा छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत १७ जनाले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै राजीनामा मागेका थिए। तर, मंगलबारको बैठकमा नबोलेका माधवकुमार नेपाल निकट दुई मन्त्री घनश्याम भूसाल र योगेश भट्टराईले भने सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रतिक्रिया दिएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका स्थायी कमिटी सदस्य भूसालले पार्टी ठूलै संकटको नजिक भएको संकेत सहित धैर्य हुन आग्रह गरेका छन्। भूसालले सवैले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने बेला भएको उल्लेख गरेका छन्।
भूसालले लेखेका छन्, 'हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट संभावना नजिकिन थाल्यो। अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ।'
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले पनि सम्वादलाई जोड दिन आग्रह गरेका छन्। स्थायी कमिटीमा नबोले पनि मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन्।
भट्टराईले लेखेका छन्, 'एक पटक आफैंलाई हेरौं। अर्कालाई बुझौं। टाढा नजाऔं। नजिक आऊँ। सम्वाद गरौं सम्वाद !”
अर्को स्टाटसमा भट्टराई लेख्छन् -'सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !'
२३ सदस्यीय स्थायी कमिटी मा भूसाल र भट्टराई मात्रै नेता नेपाल निकट मन्त्री हुन् । भूसाल र भट्टराई दुबैलाई बिहान बालुवाटार बाेलाएर प्रधानमन्त्री ओलीले परामर्श लिइसकेका छन् ।
स्थायी कमिटीको आजको बैठकमा पार्टी विवादबारे छलफल हुनै पाएन । विवाद बढ्ने देखिएपछि बैठकमा केही मिनेट बसेको ओली संसद बैठकमा जाने भन्दै बैठकबाट बाहिरिएका थिए । अर्को बैठक बिहिबार ११ बजे बस्ने भएको छ ।