काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए । ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिए । महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरेका थिए ।
बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए।