काँकरभिट्टा–इनरुवा विद्युतीय रेल: करिब सात सय बिघा जग्गा अधिग्रहण

काँकरभिट्टा–इनरुवा विद्युतीय रेल: करिब सात सय बिघा जग्गा अधिग्रहण

काठमाडौँ । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ ।

कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।

उक्त खण्डको १०६ किलोमिटर लामो रेल मार्गका लागि सो जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो ।

रेल मार्गको सो खण्डको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र सुनसरीले अलग अलग सार्वजनिक सूचना जारी गरी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएका छन् ।

रेल विभागका इन्जिनियर विनोदकुमार ओझाका अनुसार काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग निर्माण गर्न झापामा ३३७ बिघा, मोरङमा २३१ बिघा १० कट्ठा र सुनसरीमा १०४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो ।

त्यसैगरी उक्त तीनवटै जिल्लामा चार हजार १७१ कित्ता जग्गा अधिग्रहण गरिनेछ जस अन्तर्गत झापामा दुई हजार दुई कित्ता, मोरङमा एक हजार ३५७ कित्ता र सुनसरीमा ८१२ कित्ता जग्गा अधिग्रहण हुँदैछ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहण गरिनेछ ।