विज्ञहरु भन्छन्-'उपत्यकामा ३ महिना अघिदेखी नै कोरोना फैलिरहेको छ'

जनस्वास्थ्य विज्ञहरुले काठमाडौं उपत्यकामा साढे दुई-तीनमहिना अघिदेखि कोरोना संक्रमण भित्रभित्रै फैलिरहेको बताएका छन् । संक्रमणका कारण धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु भएसँगै काठमाडौं उपत्यका उच्च जोखिममा रहेको प्रष्ट भएको उनीहरु बताउँछन् । ज्यान गुमाएकी ती महिलालाई तीनदेखि ६ हप्ता अगाडि नै कोरोना संक्रमण भएको हुन सक्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

संक्रमण भएको १० दिनमै मृत्यु नहुने भएकोले पहिलेदेखि नै उनमा कोरोना संक्रमण भएको पाण्डेको आँकलन छ । उपत्यकामा कोरोना संक्रमित पहिलैबाटै भए पनि कडा खालको लक्षण नदेखिएका कारण परीक्षणको दायरामा नआएको हुन सक्ने डा. पाण्डे बताउँछन् ।

उपत्यकामा कोरोना संक्रमण साढे दुई-तीनमहिना अघिदेखि भित्रभित्रै फैलिएको थियो भन्ने कुरा संक्रमित सुत्केरी महिलाको मृत्युले जनाउने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन् ।

काठमाडौं महानगरपालिकाले सरसफाइ क्षेत्रमा काम गर्ने ६ सय ६४ जना कर्मचारीको आरडीटी परीक्षण गराएको थियो । शुक्रबार गरेको आरडीटी परीक्षणमा ३१ जनाको कर्मचारीको रिपोर्टमा पोजेटिभ नतिजा आउनुलाई पनि काठमाडौंमा कोरोना संक्रमण केही साताअघि नै फैलिएको भन्न सकिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

तराई क्षेत्रपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएर पिसिआर टेष्टमा नेगेटिभ नतिजा आए पनि शरीरमा कोरोना भाइरस संक्रिय हुँदा अन्य मानिसलाई सर्न सक्ने डा. दीक्षित बताउँछन् । काठमाडौं उपत्यका पहिलेबाटै जोखिममा भए पनि १० दिन यता झन् जोखिम बढेको डा। पाण्डेको भनाइ छ । लकडाउनलाई खुकुलो बनाउँदा कोरोना प्रभावित क्षेत्रबाट विभिन्न नाका हुँदै धेरै मानिस काठमाडौं प्रवेश गरेका कारण झन् जोखिम बढेको उनले बताए ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुबाट तराई, पहाडी जिल्लासँगै काठमाडौं पनि प्रभावित हुन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको ठेगाना नागरिकताअनुसार भन्ने गरेको हुँदा उपत्यकाभित्र बस्दै आएर हाल आफ्नो घर पुगेका मानिस संक्रमित भएको अवस्थामा उनीहरुको गणना काठमाडौं उपत्यकाबासीका रुपमा नहुने डा. पाण्डे बताउँछन् ।

काठमाडौं उपत्यकामा परीक्षणको दायरालाई फराकिलो बनाएमा धेरै संक्रमित भेटिने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।