विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उनीजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीमुलुकसम्मका नेपाली सरकारले कहिले नेपाल फर्काउला भन्ने आशामा छन् ।

काभ्रेमण्डन देउपुर घर भई लामो समय सानोठिमी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका ढकाल यतिखेर कोरियामा अलपत्र परेका नेपालीको उद्धार गरिदिन सरकारलाई आग्रह गर्छन् । भिसा सकिएका नेपाली घर फर्कन पाउने आशामा बसेका छन् । सरकारले यहाँका पीडित नेपालीको उद्धार गरिदेला भनेर दूतावास धाउँदा हैरान भइसकेको बताए ।

ढकालका अनुसार यहाँ खान बस्न मासिक पाँच लाख वन (रु ५० हजार) खर्च हुन्छ, वैधानिकरुपमा बसेका विदेशीले कोरिया सरकारलाई अनिवार्यरुपमा मासिक एक लाख १३ हजार वन (रु १२ हजार) तिर्नुपर्छ । कोरियाबाट ढकाल भन्छन्, “नेपाल जाने अत्तोपत्तो छैन, दुतावासमा सोध्दा कर्मचारीले समाचार हेर्दै गर्नुस् भन्छन्, हामीले कमाएको पैसा कोरियामै सकिने भो, हामी हाम्रै खर्चमा फर्कन्छौँ, सरकार बिन्ती छ, हामीलाई नेपाल फर्काइदेऊ ।”

सरकारले उद्धार गरिदिए कोरियामा सक्ने पैसा नेपालमै खर्च गर्न तयार रहेको बताउँदै ढकाल भन्छन्, “सरकारले भिसा सकेर विदेशी भूमिमा अलपत्र परेकालाई तत्काल उद्धार गरे पुग्छ, उद्धारमा लाग्ने विमान चार्टर खर्च, नेपाल आएपछि क्वारेन्टाइनमा बस्न लाग्ने खर्च, होटलमा क्वारेन्टाइन बनाएर राखे, त्यसको खर्च सबै हामी आफैँ व्यहोर्र्छौं, सरकारलाई व्ययभार पार्दैर्नौं, विदेशमा कमाएको पैसा विदेशमै सक्नुभन्दा नेपालमै खर्च गरौँला, मात्रै सरकारले नेपालीलाई विमानस्थलमा ओर्लिने अनुमति दिए पुग्छ ।”

अन्तर्राष्ट्रिय कानूनअनुसार पनि नागरिक आफ्नो देश फर्कन पाउने नैसर्गिक अधिकार हो । कतारबाट नेपाल फर्कने आशामा बसेका सन्तोषी कार्की भन्छिन्, “नेपालबाट सबै देशले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो, हाम्रो देशले फर्काउनु पर्दैन रु हाम्रो पीडा कहिले बुझ्छौ सरकार ?” अहिले अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, क्यानडा, मलेसिया, कतार, युएई, साउदी अरेबिया तथा अमेरिका, युरोप खाडी मुलुकमा रहेका लाखौँ नेपाली देश फर्कन आतुर छन् ।

विगत ११ वर्षदेखि अमेरिकाको टेक्सस्मा छोराबुहारीको आग्रहमा तीन महिना अमेरिका घुम्न गएका काठमाडौँ चाबहिलका ५२ वर्षीय विष्णुप्रसाद न्यौपाने दम्पत्ती अलपत्र छन् । न्यौपाने भन्छन्, “छोराबुहारीका करले अमेरिका घुम्न आइहालियो, अहिले यतै फस्यौं, म मुटुको रोगी, श्रीमतीलाई सुगरको समस्या छ, तीन महिना घुम्न आउँदा यतै मरिन्छ कि भन्ने डर भो, अब त छोराबुहारी पनि नेपाल फर्कन चाहन्छन्, तर कसरी घर पुग्ने खोई ?”

विगत १७ वर्षदेखि बाल्टिमोरमा बस्दै आएका छोराबुहारीसँग विगत पाँचवर्षदेखि ६ महिना अमेरिका र ६ महिना नेपाल बस्दै आउनुभएका ५७ वर्षीय सुदर्शन बस्नेत दम्पत्ती यतिखेर छुट्टिएर बस्नुपरेको छ । छोराबुहारीको आग्रहमा अमेरिकाको नागरिकता लिएर हरेक वर्ष ६ महिना नेपाल र ६ महिना अमेरिका बस्ने बस्नेत अहिले उतै छन्। श्रीमती सुभद्रा एक्लै अहिले सूर्यविनायकस्थित नयाँबस्तीको घरमा छिन् ।

नेपालमा एक आफन्तको छोरीको विवाहका लागि दुई महिनाअघि नेपाल आएकी सुभद्रा भन्छिन्, “अमेरिकाबाट नेपाल हामीसँगै आउने जाने गथ्र्यौं, विवाहमा आउनैपर्ने भएपछि म छिटो आएँ, कोरोनाले अकस्मात् लकडाउन हुँदा उहाँ अमेरिकामै पर्नुभयो, दुई छोरा बुहारी र श्रीमान् अमेरिकामा, म एक्लै यता, चिन्ताको डढेलोले सक्ला जस्तो भयो ।” उनी पनि अलपत्र नेपालीलाई फर्काउने व्यवस्था गरिदिन नेपाल सरकारलाई आग्रह गरिन् ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जानु, दिनानुदिन बेरोजगार बढ्दै जानु र अमेरिकाले समेत विदेशीलाई आफ्नो देश फर्कन आह्वान गरिसकेकाले सरकारले तत्काल नेपाल फर्काउने व्यवस्था गर्नुपर्ने अमेरिकाको मेरिल्याण्डमा नर्सिङ पढ्दै गरेकी सुजाता पाण्डे बताउछिन् ।

पाण्डे विद्यार्थीलाई थप समस्या भएको बताछिन् । एकातिर काम नपाउनु र अर्कोतर्फ पढाइ नहुनुको पीडाले गर्दा कोरोनाले भन्दा भोक र शोकले यतै मरियला भन्ने डर भएको गुनासो गरिन् । उन भनिन्, “दिनदिनै आमाबुबा रुँदै फोन गर्नुहुन्छ, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स भित्र्याउँदा मख्ख पर्ने सरकार यतिखेर विदेशमा आफ्ना नागरिक समस्यामा पर्दा किन बेवास्ता गर्छ ? सरकार हामीलाई हाम्रो देश आउन देऊ ।”

सबभन्दा धेरै समस्या त भ्रमण भिसा र सेमिनारमा जानेहरुलाई परेको उनीहरु बताउँछन् । अमेरिकामा रहेका नेपालीले दूतावासमा दैनिक सम्पर्क गर्ने गरेका छन् । तर दूतावासले सरकारले निर्णय नगरेसम्म केही गर्न नसकिने जवाफ फर्काउने गरेको बताउँछन् । त्यहाँका नेपालीले गैरआवासीय नेपाली सङ्घसमेत गुहारेका छन् । सङ्घले दूतावासदेखि सरकारसमेतलाई दबाब दिइरहेको छ ।

यता लण्डनमा विगत १४ वर्षदेखि बस्दै आएका काठमाडौँको बानेश्वर, शान्तिनगरका शमशेर शर्माको परिवार नेपाल फर्कन आतुर छ । नेपालमा कम्प्युटर इन्जिनीयर र श्रीमतीको विद्युत् प्राधिकरणको जागिर छाडेर लण्डन पुगेका उनीहरु यतिखेर भने देश सम्झिरहेका छन् । विशेषगरी बेलायतमा अध्ययनका लागि जानेहरु अहिले जटिल समस्यामा परिरहेको बताउँदै शर्माले लामो समयदेखि बेलायमा बस्दै आएका नेपालीहरु आफ्नै खर्चमा पनि नेपाल फर्कन आतुर रहेको बताउछन् ।

अष्ट्रेलियामा एक वर्ष अगाडि अध्ययनका लागि गएका भक्तपुरको सूर्यविनायक नगरपालिका–४ का सुसन अधिकारी अहिले धेरै नेपाली बिचल्लीमा परेको बताउछन् । अष्ट्रेलियामा एनआरएनले केही सहयोग गरे पनि बाँच्न निकै कठिन भएको उनी बताउछन् ।

खाडी मुलुकमा रहेका नेपालीको पीडा त्योभन्दा पनि बढी छ । “खाडी मुलुकबाट भित्रिएको रेमिट्यान्सले देश चलेको छ त्यसैले सरकार खाडी मुलुकमा फसेका नेपालीको उद्धार गर”, मलेसियमा तीन वर्षदेखि कार्यरत भक्तपुर सिपाडोलका हरिष मानन्धर भन्छन् । कोरोना भाइरसका कारण सबै नेपाली बेरोजगार भएको बताउँदै उनी कैयौँ नेपाली घर न घाटको भएर बस्नुपरेको बताउछन् । खाने, बस्ने व्यवस्थासहितको रोजगारीमा आएका नेपालीहरु काम गर्ने कम्पनी बन्द भएपछि तलब पनि दिन छाडेको र कतिपय कम्पनीले खाने, बस्ने सुविधासमेत नदिएपछि बिचल्लीमा परेको बताउछन् । केही नेपालीमा समेत कोरोनास सङ्क्रमण देखिएपछि त्रास बढेको छ भने खान र बस्न नपाएपछि धेरै मनोरोगीसमेत हुन पुगेका बताइन्छ ।