ओत लाग्ने गतिलो टहरोसमेत छैन सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ

ओत लाग्ने गतिलो टहरोसमेत छैन सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ ।

कोरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन्।

बिओपीमा विद्युत्, सञ्चार, खानेपानीको सुविधा छैन । उनीहरूले भारतकै सिम प्रयोग गर्नुपर्छ।

‘कोइलाबासबाहेक अन्य कुनै पनि स्थानमा हाम्रो फोनले काम गर्दैन । कतैकतै स्काईको सिमले काम गरे पनि भरपर्दो छैन । जिल्लासँग सम्पर्क गर्नुपर्दा र इन्टरनेट प्रयोग गर्नुपर्दा भारतीय सिमको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सशस्त्र प्रहरी बल कोइलाबासका इन्स्पेक्टर विशाल पाण्डेले भने, ‘यसो गर्दा सुरक्षा जोखिम त छ, तर अर्को उपाय पनि छैन ।’ अस्थायी पोस्टहरू स्थानीय विद्यालयमा राखिएका छन्।

सुरक्षाकर्मीले दैनिक उपभोग्य सामान पनि भारतबाटै ल्याउनुपर्छ । विद्युत् नहुँदा सोलारबाट सञ्चारसेट चार्ज गर्छन् । खोलाको पानी पिउनुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, एउटा पोस्टबाट अर्को पोस्टमा जान पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ।