भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।

भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । सोही भेटका अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका हुन् ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख छ ।

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको विज्ञप्तिमा जनाइएको छ । नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको स्मरण गर्दै रास्वपाले यस भ्रमणबाट दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ भई आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने रास्वपाको अपेक्षा छ ।