काठमाडौँ । झापाको कनकाई नगरपालिकामा फोटो स्टुडियो सञ्चालन गर्दै आएका यशु खतिवडाले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आत्महत्या गरेको सार्वजनिक भएको छ। फोटोग्राफी र भिडियोग्राफी व्यवसायमा आबद्ध खतिवडा आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, खतिवडाले कोठाको चुकुल लगाएर आत्महत्या गरेका हुन्। आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू लेख्दै प्रहरी हिरासतमा रहेका इनम सापकोटा र उनले आफ्नो जीवनका विभिन्न विषय जोडेका छन्।
खतिवडाले तीन दिन अगाडी र मृत्यु हुने दिन गरि दुईववटा स्टाटस लेखेका थिए। एक स्ट्याटसमा आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै आफूले आफैँलाई सजाय दिने उल्लेख गरेका छन्। उनले आफूले भोगिरहेको जीवन नै आफ्ना लागि सजाय भएको दाबी गर्दै सबैको शान्तिको कामना गरेका छन्।
उनले लेखेका छन्, ‘आफू मायारूपी मनबाट बाहिर आउन नसक्नु आफ्नै कमजोरी भएको र सोही कारण यो स्थिति आएको छ।’
उनले लेखेको अर्को स्ट्याटसमा बिचौलिया भनिएका इनमको नाम जोडिएको छ। थर नखुलाई लेखिएको उक्त स्ट्याटसमा उनले दोष आफ्नै भएको भन्दै परिवारलाई यो विषयमा नजोड्न आग्रह गरेका छन्। इनमको मोबाइल ह्वाट्सएपबाट म्यासेज आएको र पछि डिलिट भएको दाबी गर्दै उनले त्यो आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचेको नाटक मात्र भएको उल्लेख गरेका छन्।
आमा, बुबा, दाजु, भाउजू, दिदी कसैलाई पनि आफूले गरेको साधनाको बारेमा थाहा नभएको र साधना पनि गलत नरहेको उनको भनाइ छ। यद्यपि, खतिवडाले ती ‘इनम’ को हुन् र कस्तो साधना भन्ने बारेमा भने खुलाएका छैनन्। निर्दोष बुबालाई फसाउन खोज्ने व्यक्तिको बारेमा पनि फेसबुकमा केही उल्लेख गरेको देखिँदैन।
मृतक खतिवडाका छिमेकी लीलाराज झापालीले इनमसँगको सम्बन्धको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए। यसु सानैदेखिको साथी रहेको र केही दिनदेखि मानसिक समस्यामा रहेको उनले खुलाए। परिवारले समयमै उनको मानसिक समस्याका बारेमा थाहा पाउन नसकेको र सामान्य मानिसले यस्तो निर्णय गर्लान् भन्ने कसैले नसोचेको झापालीको भनाइ छ।
आइतबार भएको घटनाको विषयपछि परिवारले आजै उनको अन्तिम दाहसंस्कार गरेका छन्।
इनमको नाम जोडेर आत्महत्या गरेका खतिवडा मानसिक रोगी रहेको प्रहरीले दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बिचौलिया भनिएका इनमसँगको सम्बन्धका बारेमा अहिलेसम्म केही खुल्न नसकेको बताइन्। उनी मानसिक रोगी रहेका बुझिएको र सोही कारणले आत्महत्या गरेको हुन सक्ने उनको भनाइ छ।