नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ०६:४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो। चालकले नियन्त्रण गुमाउँदा भएको उक्त दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। दुर्घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। बस सडकबाट पन्छाएर राजमार्गको आवागमन नियमित बनाइएको छ।