स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मितिका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ। आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आगामी मंसिर ४ गतेका लागि दलहरूलाई छलफलमा बोलाइएको हो।

आयुक्त वाग्लेका अनुसार प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका ६ वटा दललाई उक्त छलफलमा सहभागी हुन आग्रह गरिएको छ। हाल प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय दलको मान्यता पाएका छन्। यसका अतिरिक्त प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका तर राष्ट्रिय दलको हैसियतमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा पनि रहेका छन् ।

वर्तमान स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने गृहकार्यस्वरूप आयोगले दलहरूसँग परामर्श थालेको हो ।

यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न प्रमुख दलहरूलाई बोलाएको पुष्टि गरेका छन्। छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका सभापति थापाले स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा आयोगको निमन्त्रणाबारे जानकारी गराएका हुन्।