राष्ट्रपति पौडेलद्वारा छठको शुभकामना : मौलिक संस्कृति संरक्षण र एकतामा जोड

राष्ट्रपति पौडेलद्वारा छठको शुभकामना : मौलिक संस्कृति संरक्षण र एकतामा जोड

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै किसिमका विभेद, कुरीति र विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न र आपसी सद्भाव अझ गहिरो बनाउन यस पर्वले महत्त्वपूर्ण प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्।

उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, आपसी सद्भाव र समृद्धिको कामना गर्दै मनाइने छठ पर्वले सूर्यदेवको आराधनासहित सामाजिक तथा प्राकृतिक सन्तुलनको गहिरो सन्देश प्रवाह गर्दै आएकोबारे प्रस्ट पारेका छन्।

राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने तथा सम्पूर्ण दुःख र कष्ट हटेर शुभफल प्राप्त हुने जनविश्वास रहिआएको कुरा सन्देशमा समेटेका छन्।

“सूर्यबिना पृथ्वीमा जीवनको अस्तित्व सम्भव नरहने यथार्थलाई आत्मसात् गर्दै तन र मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने पवित्र स्थलमा रही, अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य अर्पण गरी पूजा-आराधना गर्नुले मानवलाई प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न ठुलो सहयोग पुर्‍याउँछ,” राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति गाढा श्रद्धाभाव प्रकट गर्दै छठी माताको पूजा, अर्चना तथा कठोर व्रत बसी नदी, खोला, पोखरी र तालतलैयाका किनारमा रातभर जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने हाम्रो आफ्नै मौलिक चलन रहेको बताएका छन्।

उनले विशेषगरी तराई तथा मधेस क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्व हाल आएर काठमाडौं उपत्यकासहित देशका अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक व्यापक रूपमा मनाइन थाल्नु अत्यन्त खुसीको विषय भएको जनाएका छन्।

नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिहरूको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको लक्ष्य प्राप्तिमा छठी माता र सूर्य भगवान्को विशेष कृपा सधैं बनिरहनेछ भन्ने कामना पनि राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।