बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई थप सहयोग गर्न एसियाली विकास बैंक (ADB) सँग आग्रह गरेका छन्।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार औपचारिक भेटवार्ता भएको थियो।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले बाढीपहिरोजस्ता विनाशकारी विपद्पछिको पुनरुत्थान, दिगो तथा जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरूलाई गति दिन आवश्यक स्रोत परिचालन गरिदिन बैंकका अध्यक्ष कान्दाको ध्यानाकर्षण गराए।

साथै विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि आपत्कालीन अनुदान द्रुत प्रक्रियाबाट स्वीकृत गरेकोमा र देखाएको ऐक्यबद्धताका लागि उहाँले एसियाली विकास बैंकप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरे।

नेपालका अर्थमन्त्रीसँगको छलफलमा एसियाली विकास बैंकका अध्यक्ष कान्दाले नेपालको समग्र विकास प्रयास र समृद्धिमा सहकार्य गर्नु आफूहरूको उच्च प्राथमिकताको विषय रहेको बताए। उक्त महत्त्वपूर्ण भेटवार्तामा भ्रमण दलमा रहनुभएका अर्थसचिव डा. घनश्याम उपाध्याय तथा मन्त्रालयका सहसचिव अमृत लम्सालको पनि उपस्थिति रहेको थियो।