नेपालका यी भूभागबाट बाहिरियो मनसुन

नेपालका यी भूभागबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ । शनिबार (असोज १७) देशका केही भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ," महाशाखाले भनेको छ ।

मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा यो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । पूरै नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा केही दिनअघि वा पछि पनि हुनसक्छ । यस वर्ष सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिन सुरु भएको हो । सुदूरपश्चिमबाट बिस्तारै कोसी प्रदेश हुँदै मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।

नेपालमा हरेक वर्ष कोसी प्रदेशबाट मनसुन भित्रन र सोही भूभाग हुँदै बाहिरिने गरेको छ । अंग्रेजी क्यालेन्डरका चार महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई नेपालमा मनसुन अवधि मानिन्छ । यो अवधिमा देशमा वर्षभरि हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गरेको महाशाखाले जनाएको छ ।

छुटाउनुभयो कि ?