फेरि भीषण वर्षा हुने हल्ला निराधार, ढुक्क भएर धान काट्न सकिन्छ : महाशाखा

फेरि भीषण वर्षा हुने हल्ला निराधार, ढुक्क भएर धान काट्न सकिन्छ : महाशाखा

काठमाडौँ। असोज १७ गते नेपालमा भीषण वर्षा हुने भनी फैलिएको खबर केवल हल्ला मात्र भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले यस्तो कुनै पनि सूचना जारी नगरिएको स्पष्ट पार्दै आगामी तीन दिनसम्म ठुलो वर्षाको कुनै सम्भावना नरहेको जानकारी दिए। विगत २४ घण्टामा मकवानपुर आसपासका केही क्षेत्रमा हल्का छिटपुट वर्षाबाहेक देशका अन्य स्थानमा पानी परेको छैन। अहिले तराई र उपत्यका क्षेत्रमा तापक्रम अलिकति बढेको छ भने हिमाली भेगमा तापक्रम घटेको छ। देशभर वर्षा नभएकाले दिउँसो गर्मी हुने र बिहान-साँझ चिसो महसुस हुन थालेको छ।

आगामी दिनको मौसम अवस्थाबारे जानकारी दिँदै मौसमविद् लामिछानेले कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा अपराह्न वा साँझतिर छोटो समयका लागि मात्र पानी पर्न सक्छ। रातिको समयमा वर्षा अझ कम हुने र तराईका धेरैजसो क्षेत्रमा आकाश खुला रहनेछ।

महाशाखाका अनुसार आगामी तीन दिनको चेतावनी नक्सामा देशका सबैजसो भागलाई हरियो रङ्गमा राखिएको छ, जसको अर्थ मौसम सामान्य रहनेछ। तराई तथा उपत्यकाका खोँचहरूमा बिहानको समयमा हुस्सु, कुहिरो वा हल्का तुवाँलो लागे पनि घाम लाग्दै गएपछि मौसम खुला हुँदै जानेछ।

असोज १७ मा भीषण वर्षा हुने हल्ला निराधार भएको स्पष्ट पार्दै मौसमविद् लामिछानेले भने, ‘अहिले धान काट्ने समय भएकाले किसानहरूले मौसमबारे चासो राखिरहेका छन्, आगामी दिनमा कुनै ठुलो मौसमी प्रणालीले असर नगर्ने र ठुलो पानी नपर्ने भएकाले ढुक्क भएर धान काट्न सकिन्छ।’ 

आवश्यक परेमा मौसमसम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि उनले सुझाव दिएका छन्।

छुटाउनुभयो कि ?