नेपालबाट मनसुन बाहिरिने औसत मिति शुक्रबार, के छ अवस्था

नेपालबाट मनसुन बाहिरिने औसत मिति शुक्रबार, के छ अवस्था

काठमाडौँ । नेपालबाट वर्षायामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति भोलि अक्टोबर २ तारिख हो। यो औसत मिति भएकाले मनसुन ठ्याक्कै यो मितिमा नेपालबाट हट्ने होइन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले यस विषयमा अध्ययन/अनुगमन भइरहेको जानकारी दिए। ‘नेपालबाट मनसुन बाहिरिने औसत मिति भोलि अक्टोबर २ तारिख हो’, उनले भने, ‘अब बिस्तारै पश्चिमी क्षेत्रबाट हट्न थाल्छ। यस विषयमा हामी अनुगमन गरिरहेका छौँ। अब छिट्टै मनसुन बाहिरिने विषयमा बुलेटिन जारी गरी जानकारी गराउनेछौँ।’ 

मौसमविद् लामिछानेका अनुसार मनसुन देशभरबाटै एकैचोटि बाहिरिँदैन। यो पश्चिमी भागबाट क्रमश: हट्दै हट्दै नेपालको पूर्वी प्रदेशबाट बाहिरिन्छ। ‘तत्काल पश्चिमका केही भागबाट मनसुन बाहिरिए पनि देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ’, उनले भने। 

नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो। 

मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ। मनसुन अवधि सकिने मिति नजिकिँदै गर्दा असोज १ देखि नै देशको पश्चिमी भेगबाट पश्चिमी वायुको प्रभाव सुरु भइसकेको छ। 

मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। 

अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ। 

मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।आजका लागि यस्तो छ मौसम प्रक्षेपण-

 

छुटाउनुभयो कि ?