जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहर हो । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका रूपमा विश्वभर प्रसिद्धि पाएको यो सहरमा हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी धार्मिक पर्यटक आउने गर्छन् ।
नगरको मध्य भागमा रहेको जानकी मन्दिर यो सहरको मुख्य आकर्षणको केन्द्रविन्दुमा पर्छ । यो मन्दिरमा दर्शन तथा पूजापाठका लागि दैनिक हजारौँ भक्तालुको ताँती नै लाग्ने गरेको छ । त्यतिमात्र होइन, जानकी मन्दिरसँगै राम मन्दिर, विवाह मण्डप, संकटमोचन लगायतका धार्मिक स्थलहरूमा पुगेर पूजाआजा गर्ने गर्छन् । ‘५२ कुटी ७२ कुण्ड’ को उपमा पाएको यो सहरभित्र विभिन्न मठ–मन्दिरसँगै यहाँ रहेको अर्को विशेषता पोखरी (सरोवर) ले पनि जनकपुरको पहिचान स्थापित गरेको छ ।
जनकपुरधाम–८ का स्थानीय रमेशदास वैष्णवले जानकी मन्दिरसँगै मठमन्दिर र सरोवर नहुँदा जनकपुरधामको महत्त्व हुन नसक्ने बताए । सम्बन्धित निकायले यसको संरक्षण गर्नुपर्ने भए पनि त्यसतर्फ ध्यान नपुग्दा पोखरीहरू लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
मठमन्दिर, कुटीका जग्गाहरू महन्थहरूले बेचेर खाएको उनले आरोप लगाए । स्थानीय प्रशासन या गुठी संस्थानबाट यस्तो गलत कार्य रोक्न उल्लेखनीय पहल नहुँदा अहिलेको अवस्था आएको उनको बुझाइ छ । अहिले जनकपुरमा ‘५२ कुटी ७२ कुण्ड’ इतिहासमै सीमित भएको छ । यहाँ रहेका आधा दर्जन पोखरी लोप भइसकेका छन् । ती लोप भएका पोखरीमाथि अहिले ठूला–ठूला भवन ठड्याइएका छन् ।
जनकपुरधाममा अहिले गुठी संस्थानका ४९ वटा पोखरी छन् । तीमध्ये ५ वटा पौराणिक पोखरीहरू नक्साबाट गायब भइसकेका छन् । ती लोप भएका पोखरीहरू भएको स्थानमा व्यावसायिक प्रतिष्ठान, होटल, अस्पतालदेखि बस्तीसमेत बसिसकेको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ ले जनकपुरमा रहेका पोखरीमध्ये ५ वटा जनक सरोवर, अमृत कुण्ड, पयश्विनी सर, बलदेव सर तथा गोपाल सर पोखरीहरू पूर्णरूपमा लोप भइसकेको औँल्याइसकेको छ ।
तत्कालीन समयमा पोखरीहरूको संरक्षण गर्ने जिम्मा पाएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माले २०७१ सालमा केही कार्य अगाडि बढाए पनि त्यसमा अवरोध सिर्जना हुँदा त्यसले निरन्तरता पाउन सकेन ।
तर अहिले फेरि बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि यो अभियानलाई पुनः अगाडि बढाइएको छ । त्यो अभियानको पहिलो सुरुवातस्वरूप ७ वटा पोखरी र त्यसको डिल अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएका छन् ।
दोस्रो चरणका लागि १५ वटा पोखरीको डिल स्वस्फूर्त खाली गर्न ७ दिनको सूचना दिए पनि निर्धारण गरेको समय बितिसकेर खाली गराउने क्रममा जनकपुर उपमहानगरले सहयोग नगर्दा यो अभियान पनि अलपत्र अवस्थामा पुग्ने हो कि भन्ने धेरैले अड्कल काटिरहेका छन् ।
केन्द्रीय गुठी संस्थान तथा गठित समितिका प्रवक्ता जनक पोखरेलले दोस्रो चरणमा १५ वटा पोखरीको डिल अतिक्रमण हटाउने सबै तयारी भए पनि प्राविधिक कारणले रोकिएको बताए ।उनले भने, ‘हामीले सूचनाको म्याद समाप्तलगत्तै सबै तयारी गरिसकेका थियौँ, तर पोखरी डिलमा बस्ने स्थानीयवासीले केही समय दिनुस्, हामी आफैँ भत्काउँछौँ भनेर अनुरोध गर्दा यो प्रक्रिया केही लम्बिन गएको हो ।’
यता जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह गुठी संस्थानले आफूसँग जुन समन्वय गर्नुपर्ने हो, त्यो नगर्दा केही समस्या आएको बताउँछन् ।यो ऐतिहासिक क्षेत्रमा सरोवरको महत्त्व मिथिलाका राजा जनकको दरबारदेखि भगवान् राम र सीताको विवाहका हरेक प्रसंगसँग यहाँ रहेका कुटी, मठमन्दिरसँगै पोखरीहरू पनि प्राथमिकताका साथ जोडिन्छन् । तर त्यही पोखरीहरू कतिपय लोप भएका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुग्न थालेका छन् ।