नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकालिँदै

नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकालिँदै

काठमाडौँ । चितवनको नारायणगढस्थित नारायणी नदीको पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।

नदीमा पानीको बहाव घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा हटाउन लागिएको हो।


सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नारायणी नदीमा ठूलो बाढी आउँदा आइतबार साँझ क्रुजसमेत बगाएको थियो। नदीले बगाएको क्रुज पुलको पिलरमा अड्किएपछि पुलमासमेत क्षति हुने त्रास बढेको थियो।

अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले किनारमा बाँधेर राखिएको साढे दुई तले क्रुजलाई बगाएर पुलको पिलरसम्म पुर्‍याएको थियो।

स्थानीय प्रशासनले आइतबार साँझदेखि नारायणी पुलबाट सवारी साधनसँगै पैदलयात्रामा समेत रोक लगाएको थियो। त्यहाँ अहिले क्रुज निकाल्न यान्त्रिक उपकरणहरू तैनाथ गर्न थालिएको छ। अहिले पुलबाट सवारीसाधनको आवतजावत भने खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि यो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर र आसपासको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य बनाउने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा यसको सञ्चालन थालेका थिए।

छुटाउनुभयो कि ?