काठमाडौँसहित अधिकांश ठाउँको मौसम खुल्दै, अझै कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँसहित अधिकांश ठाउँको मौसम खुल्दै, अझै कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । ४ दिनपछि काठमाडौं उपत्यकासहित केही ठाउँमा घाम देखिएको छ । देशका अधिकांश भू-भागमा मौसममा सुधार भएसँगै मध्य नेपालमा क्रमशः खुल्दै गएको जल तथा मौसम विभागले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा भने अझै हल्कादेखि मध्यम वर्षा जारी छ । तर, अहिले भारी वर्षा भने भएको छैन ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशका हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ। बाँकी क्षेत्रमा आंशिक बदली रहेको विभागकी मौसमविद् विनु महर्जनले बताइन् । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई आसपासका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महर्जनले बताइन् । पछिल्लो एक घण्टामा केही स्थानमा करिब २९.६ मिलिमिटरसम्म वर्षा मापन भएको छ।

आज राति कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा हल्का वर्षाको सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम थप सुधार हुने र वर्षाको सम्भावना न्यून रहने मौसमविद् महर्जनले बताइन् । उनले भनिन्,‘कर्णाली र सुदूरपश्चिम प्रदेशका साथ-साथै देशका हिमाली भू-भागमा चाहिँ साधारणतया बादल लागेको छ । बाँकी ठाउँमा चाहिँ आंशिक बादल लागेको अवस्था रहेको छ। र हिजोदेखि मौसम मुख्यतया सफा नै छ ।’

उनका अनुसार तत्काल देशभर ठूलो तथा भारी वर्षा हुने सम्भावना कम छ । यद्यपि सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको हुन सक्ने सम्भावना छ। पश्चिमी क्षेत्रमा पहेँलो सतर्कता आवश्यक पर्ने अवस्था रहन सक्ने भए पनि देशभर नै उच्च तहको वर्षा सतर्कता जारी गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

हिजोको तुलनामा आज मौसममा सुधार आएको छ भने भोलि अझै सुधार हुने सम्भावना छ। पश्चिमी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रका कारण केही बदली र वर्षा भने कायम रहनेछ। भोलि मध्यसम्म केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने भए पनि लगातार झरी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ। यससँगै तत्काल ठूलो वर्षा हुने जोखिम भने कम हुँदै गएको उनको को भनाइ छ।

‘न्युनचापीय क्षेत्र अझै रहेको भएर चाहिँ त्यसको प्रभावले पश्चिमतिर चाहिँ अलिकति बादल लाग्ने । भोलि मध्यमसम्म मात्र वर्षाको सम्भावना छ, लगातारको झरी छैन । छोटो समयको लागि थोरै-थोरै वर्षाको सम्भावना छ’, उनले भनिन् ।

छुटाउनुभयो कि ?