बाढीले ४८३ मेगावाटको विद्युत् आयोजना बन्द

बाढीले ४८३ मेगावाटको विद्युत् आयोजना बन्द

काठमाडौँ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नदीखोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादन समेत प्रभावित भएको छ ।

बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, मोदीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ ।

यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँ बुटवलखण्डको प्रसारणलाइनमा समेत ‘फल्ट’ आएको छ । यसका कारण करिडोर प्रसारणलाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका निम्ति प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।

विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अरू उपलब्ध प्रसारण वितरण संरचनामार्फत यो सुचारु गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले उल्लेख गरे ।

क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत् आपूर्ति क्रमशः पुनर्स्थापना गर्ने कार्य भइरहेको छ ।कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्तालाई विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाइने उनले बताए ।

विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोलनजिक नजान प्राधिकरणले आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?