कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादका विषयमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरेको हो ।
भन्सार विभागका अनुसार, भट्टलाई हालको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन भनिएको छ । भट्ट र एसपी केसीबीच भएको विवाद उत्पन्न सम्बन्धमा विभिन्न विवरण सार्वजनिक भएका थिए । त्यसबारे थप तथ्य बुझ्नुपर्ने आवश्यकता देखिएपछि विभागले भट्टलाई विभागमा बोलाएको जनाएको छ ।
यद्यपि, भन्सार विभागले विवादमा को दोषी वा निर्दोष भन्नेबारे कुनै निष्कर्ष सार्वजनिक गरेको छैन । थप अध्ययन तथा बुझाइपछि आवश्यक प्रक्रिया अघि बढ्ने विभागको निष्कर्ष छ । भन्सार पास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले रोकेको विषयलाई लिएर भट्ट र एसपी केसीबीच विवाद भएको थियो ।
सशस्त्र प्रहरीले रोकेको गाडी तत्काल नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने भन्दै भट्टले एसपी केसीलाई दबाब दिएको भनिएको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि घटनाबारे थप चर्चा भएको थियो । विवादको वास्तविकता र घटनामा संलग्न पक्षको भूमिकाबारे भन्सार विभागले थप बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।