बाढीको खतरा बढेपछि एमाले मुख्यालयका सामान सारियो

बाढीको खतरा बढेपछि एमाले मुख्यालयका सामान सारियो

काठमाडाैँ । लगातारको वर्षासँगै मनोहरा खोलामा पानीको सतह बढेर डुबानको जोखिम बढेपछि ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयका सामान माथिल्लो तलामा सारिएको छ ।

वर्षाका कारण मनोहराको बहाव बढेपछि कार्यालयको तल्लो तलामा रहेका कुर्सी, टेबल तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न माथिल्लो तलामा सारिएको एमालेका एक नेताले बताए ।
मनोहराको पानी एमाले कार्यालय अगाडिको सडकसम्म पुगेको छ । च्यासलमा काठमाण्डु र ललितपुर जोड्ने पुल नाघेर पानी बगेको छ । खोलाको बहाव थप बढ्दै गएपछि च्यासल क्षेत्रमा डुबानको जोखिम बढेको हो ।

मनोहराको जलसतह बढेपछि गृहमन्त्री सुधन गुरुङ शुक्रबार अपराह्न च्यासल पुगेका थिए । उनले एमाले केन्द्रीय कार्यालय आसपाससहित मनोहरा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । मनोहरा खोलामा आएको बाढी दुई वर्षअघि एमाले केन्द्रीय कार्यालय पसेको थियो ।

०७२ को महाभूकम्पले बल्खुस्थित तत्कालीन केन्द्रीय कार्यालय भवन भत्किएपछि एमालेको आफ्नै भवन छैन । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको छ । यसअघि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा पनि एमाले कार्यालयमा आगजनी भएको थियो । त्यसपछि आवश्यक मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याइएको हो ।

छुटाउनुभयो कि ?