अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो : मौसम प्रणालीमा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो : मौसम प्रणालीमा उथलपुथलको संकेत

काठमाडौँ । हाल विकसित भइरहेको एल निनो जलवायु घटना अहिलेसम्मकै शक्तिशाली अवस्थामा पुगेको वैज्ञानिकहरुले बताएका छन्। 

प्रशान्त महासागरको तापक्रम निगरानी गरिरहेका वैज्ञानिकहरूका अनुसार गत शनिबार अर्थात् सेप्टेम्बर १९ मा मध्य–पूर्वी प्रशान्त महासागरको एक महत्वपूर्ण क्षेत्रमा समुद्रको सतहको दैनिक तापक्रम औसतभन्दा ३.०५ डिग्री सेल्सियस बढी मापन गरिएको थियो। 

पछिल्लो तापक्रम (३.०५ डिग्री) सन् २०१५ मा देखिएको अत्यन्त शक्तिशाली एल निनोका क्रममा कायम भएको ३.०२ डिग्री सेल्सियसको अघिल्लो रेकर्डभन्दा बढी हो। एल निनोको दीर्घकालीन मापदण्डले भने अहिलेसम्म कीर्तिमानीको स्तर अर्थात् नयाँ रेकर्ड छोएका छैनन्। 

तर यो अवस्था परिवर्तन हुने सम्भावना रहेको छ। किनभने यसको चरम विन्दु (पिक) यो वर्षका अन्त्यतिर मात्र पुग्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्। एल निनोको अवस्थामा विश्वभर नै मौसम प्रणालीमा ठूलो परिवर्तन आउन सक्छ। बेलायतको मौसम विज्ञान कार्यालय (मेट अफिस) का अनुसार यसका धेरै सम्भावित प्रभावहरू भने संसारका विभिन्न स्थानमा अहिले नै महसुस गर्न थालिएको छ। 

के हो एल निनो र यसको शक्ति कसरी मापन गरिन्छ?

एल निनो प्राकृतिक रूपमा हुने एक मौसमी प्रक्रिया हो, जुन सामान्यतया हरेक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र यसको प्रभाव करिब एक वर्षसम्म रहन्छ। प्रशान्त महासागरमा सामान्यतया पूर्वबाट पश्चिमतर्फ बहने वाणिज्य वायु (ट्रेड विन्ड्स) कमजोर हुन वा कहिलेकाहीँ उल्टो दिशामा बहन सक्छन्। जसले गर्दा महासागरको न्यानो पानी पूर्वतिर फैलिन पाउँछ। त्यसपछि महासागरबाट वायुमण्डलमा ताप निस्किन्छ, जसले विश्वव्यापी तापक्रम बढाउन र विश्वभर मौसम प्रणालीमा परिवर्तन ल्याउन सक्छ। 

मौसमविद्हरूले प्रशान्त महासागरको एक मुख्यक्षेत्रको तापक्रमको निरन्तर निगरानी गरेर एल निनोको विकासक्रमलाई पछ्याउँछन्। जब त्यहाँ (समुद्री सतह) को तापक्रम लगातार रूपमा सामान्यभन्दा ०.५ डिग्री सेल्सियसभन्दा बढी हुन्छ, तब एल निनो घोषणा गरिन्छ।

एल निनोको तीव्रता (यो कति शक्तिशाली छ भन्ने) मापन गर्ने विभिन्न तरिका छन्। अहिले तोडिएका कीर्तिमान (रेकर्ड) दीर्घकालीन ऐतिहासिक औसतको तुलनामा समुद्री सतहको तापक्रमको दैनिक मापनसँग सम्बन्धित रहेका छन्। वैज्ञानिकहरूका अनुसार यसलाई ‘ओसेनिक निनो इन्डेक्स’ (ओएनआई) भनिन्छ।

अमेरिका र अष्ट्रेलियाका मौसमविद्लगायत धेरै वैज्ञानिकहरू ‘रिलेटिभ ओसेनिक निनो इन्डेक्स’ (आरओएनआई–रोनी) भनिने अर्को वैकल्पिक मापदण्डलाई पनि ध्यानमा राख्छन्। यसले उष्णकटिबन्धीय महासागरका अन्य भागको तुलनामा एल निनोको मुख्य क्षेत्र कति न्यानो छ भनेर मापन गर्छ। 

यसको अर्थ यसले जलवायु परिवर्तनका कारण हुने पृष्ठभूमिगत तापक्रम वृद्धिलाई पनि समेट्छ। रोनी सूचकांकका अनुसार हालको एल निनो अहिलेसम्म कीर्तिमान तोड्ने स्तरमा पुगेको छैन तर आगामी सातामा यससम्बन्धी थप घोषणा हुने सम्भावना छ। 

‘हामीले विकसित हुँदै गरेको ‘एल निनो’ एक अभूतपूर्व घटना हुनेछ भनेर महिनौंदेखि संकेत गर्दै आएका छौं’‚ मेट अफिस दीर्घकालीन पूर्वानुमान (लङ रेन्ज प्रेडिक्सन) विभागका प्रमुख प्राध्यापक एडम स्काइफले भने।

यो वर्षको अन्त्यतिर आफ्नो चरम विन्दुमा पुग्ने ठानिएकोमा त्यो समय आउन अझै केही हप्ता बाँकी छ तर पुराना सबै रेकर्ड तोडिसकेको तथ्यले नै यो ‘एल निनो’ कति विशाल छ भन्ने स्पष्ट देखाइरहेको उनी बताउँछन्। 

विश्वभर महसुस हुन थालिसक्यो ‘एल निनो’को प्रभाव 

वैज्ञानिकहरुका अनुसार प्रत्येक ‘एल निनो’को अवस्था फरक हुन्छ, त्यसैले विश्वव्यापी मौसमी प्रणालीमा पर्ने प्रभाव पनि निश्चित हुँदैनन्। हालको ‘एल निनो’को अभूतपूर्व तीव्रताको अर्थ मौसममा पनि अभूतपूर्व प्रभाव नै पर्छ भन्ने पनि होइन।

वैज्ञानिकहरू अझै पनि यसको प्रभाव यसको तीव्रता वा विशालताको अनुपातमा हुन्छ कि हुँदैन भनेर मूल्याङ्कन गर्दै छन्। ‘तर हामीले विश्वभर अपेक्षित असर देख्न थालिसकेका छौँ’‚ प्राध्यापक स्काइफले भने। ‘एल निनो’ले केही क्षेत्रमा आँधी र बाढी तथा अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढाउन सक्ने उनले बताए। 

एल निनोको प्रभाव रहने वर्षहरूमा भारतमा औसतभन्दा कम मनसुनी वर्षा हुन्छ, जुन यो वर्षको तथ्याङ्कमा पनि देखिन थालेको छ। एल निनोको अर्को एउटा सामान्य प्रभाव भनेको वायुमण्डलको माथिल्लो तहमा हावाको बहावमा आउने परिवर्तनका कारण एट्लान्टिक महासागरमा आँधीबेहरी (हरिकेन) को गतिविधि कम हुनु हो।

सन् २०२६ मा अहिलेसम्म एट्लान्टिकमा कुनै पनि आँधीबेहरी आएको छैन। स्याटेलाइटमार्फत आँधीको निगरानी सुरु भएयता आँधी नआएको यो सबैभन्दा ढिलो मिति (आँधीको अन्तराल) को नयाँ कीर्तिमान हो।

इक्वेडर, पेरु र अमेरिकाको दक्षिणी भागका तटीय क्षेत्रमा बाढीको जोखिम बढ्नु तथा ब्राजिल, अष्ट्रेलिया र इन्डोनेशियामा खडेरी र डढेलोको खतरा बढ्नु जस्ता यसका अन्य सम्भावित प्रभावहरु छन्। तीमध्ये केहीको अनुभव अहिले नै भइरहेको छ।

मौसमसम्बन्धी यी प्रभावले विश्वभर बालीको उत्पादन, खाद्य सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छन्।

निकै शक्तिशाली एल निनो सक्रिय रहेको समय सन् २०१५ र २०१६ को हिउँदमा लगातार ठूला आँधीबेहरी आएका थिए। त्यसबेला विज्ञहरूले यसलाई अभिलेखमा रहेको सबैभन्दा चरम बाढीको घटना भनेर वर्णन गरेका थिए।

सन् २००९-२०१० को हिउँदमा देखिएको अत्यधिक चिसोको लहर (जसलाई ‘बिग फ्रिज’ भनिन्थ्यो) तीन दशकयताकै सबैभन्दा चिसो समय थियो र यो घटना पनि एल निनोको समयमै भएको थियो। यद्यपि, सन् २००६-२००७ को हिउँद पनि एल निनोको समय थियो तर त्यो मौसमभन्दा विपरीत न्यानो थियो।

अहिलेको अभूतपूर्व ‘एल निनो’ सन् २०२६ को अन्त्यतिर आफ्नो सम्भावित चरम विन्दुमा पुग्दै गर्दा, वैज्ञानिकहरूले यसको विकासक्रम र विश्वभरको मौसममा यसले पार्ने प्रभावको निगरानी गरिरहेका छन्। 

छुटाउनुभयो कि ?