माथिल्लो त्रिशूली–१को सुरूङमा थप १३ शव फेला, हालसम्म ३७ शव निकालियो

माथिल्लो त्रिशूली–१को सुरूङमा थप १३ शव फेला, हालसम्म ३७ शव निकालियो

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ।

नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा सोमबार थप १३ शव फेला पारेको हो ।

थप १३ शव बाहिर निकालिएसँगै अडिट–३ क्षेत्रबाट हालसम्म निकालिएका शवको संख्या ३७ पुगेको छ ।

अडिट–३ क्षेत्रबाट निकालिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ। सनाखतका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

आयोजनाका अनुसार ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ। यस्तै, आयोजनााको दुईतर्फी टनेलमा मिनी एक्साभेटर प्रयोग गरेर पनि खोजी तथा उद्धार कार्य भइरहेको छ।

छुटाउनुभयो कि ?