पोर्चुगलमा रहेका नेपाली युवा राज कलेलले क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरयुक्त जर्सी बिक्री गरेर रसुवा बाढीपीडितका लागि सहयोग गरेका छन्।
लिस्बनमा बस्दै आएका कैलाली गौरीगङ्गा–८ का ३१ वर्षीय कलेलले आफ्नो प्रिय जर्सी १ हजार २०० युरो (करिब २ लाख १० हजार रुपैयाँ) मा बिक्री गरेका हुन्। बिक्रीबाट प्राप्त रकम उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
रोनाल्डोका ठूला समर्थक कलेलले उक्त जर्सी जुलाईमा रोनाल्डोकी दिदी एल्मा एभेइरोमार्फत हस्ताक्षर गराएर प्राप्त गरेका थिए। जीवनभर सम्झनाका रूपमा राख्ने सोच बनाएको जर्सी बाढीपीडितको सहयोगका लागि बिक्री गर्नुपरेको उनले बताएका छन्।
फ्रान्समा रहेका नेपाली वीरेन्द्र गुरुङले जर्सी खरिद गरेका हुन्। कलेलले यसअघि पनि प्रधानमन्त्री राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरिसकेका थिए। अब उनको चाहना भने बाढीपीडितका लागि जर्सी बिक्री गरेको खबर रोनाल्डोसम्म पुर्याउँदै नेपालको झन्डासहित रोनाल्डोसँग तस्बिर खिच्नु रहेको छ।
आफूले काम गरिरहेको रेस्टुरेन्टका मालिकलाई रोनाल्डोसँग भेट गराइदिन आग्रह गरेको उनी सुनाउँछन्।