गोरखा । मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको छ । ४ हजार ८०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा निरन्तर वर्षा भइरहेको स्थानीय नाङ्सेल छ्योदेन लामाले जानकारी दिइन् ।
निरन्तरको वर्षाले मनास्लु आधार शिविरमा पहिरो गएको उनले बताइन् । ‘यति धेरै उचाइमा विगतका वर्षमा कहिल्यै पनि यसरी बर्सात हुँदैनथ्यो । यसपाली किन यति धेरै पानी परिरहेको छ’, उनले भनिन्,‘आकाशको पानीले हिउँ पलाग्ने रहेछ । त्यसैले हिउँ पनि पग्लिएको छ । वरिपरि हिउँ देखिदैन ।’
ग्ल्यासियर पनि धेरै टाढा मात्र देखिने उनले बताइन् । आफू यहाँ आएदेखि नै पानी परिरहेको यहाँ इन्टरनेट सेवा दिइरहेका प्रवल लामाको भनाइ छ । ‘दुई हप्ता जति भयो,निरन्तर पानी परिरहेको छ’,उनले भने,‘अड्चालिससय मिटर उचाइमा यति धेरै पानी पर्नु स्वभाविक कुरा होइन ।’