६ महिनादेखि हुप्सेकोटको पेलेगामा निस्किएको धुवाँबारे के भन्छन् भू-गर्भविद् ?

६ महिनादेखि हुप्सेकोटको पेलेगामा निस्किएको धुवाँबारे के भन्छन् भू-गर्भविद्  ?

हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका-६ पेलेगामा जमिनमुनिबाट निरन्तर धुँवा निस्किनुको कारण कार्बन मोनोअक्साइड नामक ग्यासको उपस्थिति रहेको भू-गर्भविद्हरूले प्रारम्भिक निष्कर्ष निकालेका छन्।

कार्बन मोनोअक्साइड ग्यास स्वास्थ्यका दृष्टिकोणले विषाक्त मानिन्छ। अनुसन्धान टोलीका प्रमुख भू-गर्भविद् प्रकाश लुइँटेलले सो क्षेत्रमा ज्वालामुखीको सम्भावना नरहेको प्रष्ट पारे। उनले भने,'ज्वालामुखीको सम्भावना छैन,स्थानीयवासीलाई त्रसित नहुन आग्रह गर्दछु।'

खानी तथा भू-गर्भ विभाग,धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बाट आएका विज्ञहरूको संयुक्त टोलीले बुधबार उक्त क्षेत्रको स्थलगत अनुगमन गरी अध्ययन गरेको हो। अध्ययन टोलीमा भू-गर्भविद् लुइँटेलको नेतृत्वमा भू-गर्भविद् मणि खनाल,नास्टका प्राविधिक अधिकृत दिनबन्धु पराजुली र धौवादी फलाम खानीका विज्ञ शशि तामाङलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

स्थलगत अनुगमनका क्रममा टोली प्रमुख एवं भू-गर्भविद् लुइँटेलले चट्टानमा कार्बन मोनोअक्साइड ग्यासको मिश्रण भएकाले धुँवा आएको बताए। कार्बन मोनोअक्साइडको मात्रा चट्टानमा देखिन्छ, त्यसैले धुँवा आइरहेको हो,'लुइँटेलले भने,'अरू तत्वहरू पनि हुन सक्छन्,त्यसको विस्तृत विवरण नमूना परिक्षणपछि मात्र आउनेछ।'

सो स्थानमा ६ महिनाअघिदेखि निरन्तर जमिनमुनिबाट धुँवा आएपछि स्थानीय त्रसित बनेका थिए। यो क्षेत्रमा ज्वालामुखीको कुनै सम्भावना नरहेको बताउँदै लुइँटेलले स्थानीयवासीलाई नआत्तिन र सुरक्षाका लागि सावधानी अपनाउन भने अनुरोध गरे। 'यो स्थितिमा स्थानीयवासीहरू सचेत रहनुपर्छ तर, ज्वालामुखी भनेर त्रसित हुनुपर्ने अवस्था छैन,उनले भने,'धुँवा निस्किरहेको स्थान नजिकै नजानुहोला र  त्यहाँबाट बग्ने पानी पनि नपिउनुहोला।'

स्थानीयवासी केशबहादुर सोमैले चैतबाट सामान्य देखिए पनि वर्षा सुरू भएपछि धुँवाको मात्रा बढेको बताए। उनले भने,'आँखा पोल्ने र बिरामी हुने क्रम बढेको छ,खोलाको पानीको स्वाद पनि नुनिलो छ।' उनले खेतीबालीमा असर पर्ने हो कि भनेर चिन्ता समेत व्यक्त गरे। अनुसन्धान टोली माटो,ढुङ्गा,पानी,धुँवा,वनस्पतिलगायतको नमूना संकलन गरी काठमाडौं फर्किएको छ।

टोली प्रमुख लुइँटेलले ती नमूनाहरूको परिक्षणपछि विस्तृत प्रतिवेदन ल्याइने बताए। नेपाल सरकारको गौरवको आयोजनाको रूपमा रहेको धौवादी फलाम खानी पेलेगासँगै जोडिएको क्षेत्र हो।

छुटाउनुभयो कि ?