काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको सचिवालयले जानकारी गराएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे। उनले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए। उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।
राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरिन्। योकठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको भन्दै उनले राहत, पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत सहयोग र सहकार्य गर्नतत्पर रहेको जानकारी गराइन्।