काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय सभासमक्ष माफी मागेकी छन्।
कानुन निर्माणमा राष्ट्रिय सभाले असहयोग गरिरहेको भन्ने आशयको अभिव्यक्ति दिएपछि तीव्र विरोध खेपेकी मन्त्री गौतमले बिहीबार राष्ट्रिय सभाको बैठकमै उपस्थित भएर स्पष्टीकरण दिँदै माफी मागेकी हुन्।
गत मङ्गलबार आयोजित ‘जेनजी स्मृति दिवस’ का क्रममा उनले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नहुँदा कानुन निर्माण प्रक्रियामा बाधा पुगेको बताएकी थिइन्। उक्त टिप्पणीपछि संसदीय समितिदेखि सदनसम्मै उनको चर्को विरोध र आलोचना भएको थियो।
यद्यपि, मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले असहयोग नै गरेको भनेर नबोलेको दाबीसमेत गरेकी छन्।
बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, “मैले राष्ट्रिय सभाले कहीँ-कतै असहयोग गर्यो भनेर त्यस्तो शब्द प्रयोग गरेकी छैन, जुन माननीयज्यूहरूले पनि हेर्न सक्नुहुन्छ। तर, मैले भनेका कुरा र प्रस्तुत गरेका तथ्यका आधारमा सञ्चारकर्मी तथा सामाजिक विश्लेषकहरूले सामाजिक सञ्जालमा विभिन्न प्रसङ्गसहित व्याख्या गरिदिँदा भ्रम पर्न गएको हो।”