काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरूद्ध छ।
राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरूद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ। खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ।
सडक अवरूद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारी साधन बाटोमै रोकिएका छन्।
सडक अवरूद्ध भएपछि काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ। नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको भीड लागेको छ।
काठमाडौं र आसपास रिफिल हुने गरी आयात हुने बुलेट आउन सकेका छैनन्। ग्यास अभाव काठमाडौंको मात्र समस्या होइन, प्रमुख सहरका ग्यास डिलरकहाँ अझै पनि लाइन घटेको छैन।
राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन्।
सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ। ग्यासको मूल्य बढेको छ, माग पनि बढेको छ तर उपभोक्ताले बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउने अवस्था छैन।
कति उपभोक्ता मध्यरातमा लाइन लाग्न पुगेको पनि भेटिन्छ। जनजीवन असहज बनिरहँदा पनि सरकारले गम्भीर ढंगले यो समस्यालाई निलँदा दुई महिनादेखि चोकचोकमा लामो लाइन देखिएका छन्।