त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने बाध्यता थियो । रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. दामोदर पौडेलले जानकारी दिए ।
उनका अनुसार, बाढी परेर दिवंगत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षण गरेपछि पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
उनका अनुसार, डीएनए परीक्षणका लागि अुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमुना संकलन गरिएको छ । भेट्टिएका शवको डीएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमुना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमुना लिनका लागि उनले आग्रह गरे ।
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएको छ ।
हालसम्म दुई हजार २७२ डीएनए संकलन भएको छ । यसमध्ये एक हजार २६० मृतकको र एक हजार १२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।