काठमाडौँ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिएका छन् । ३७ मेगावाटको सो आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ । आयोजनामा प्राधिकरण र टेलिकमको सेयर छ । आयोजनाको क्वार्टर र टनेलमा १२२ जना फसेको आकलन गरिएको छ ।
सो आयोजनामा फसेका मानिसहरू खोज्न ८९ जना सैनिक र ३ जना गैरसैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न स्काभेटर छिराउने प्रयास भइरहेको बताइएको छ ।